Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

अन्तर्घातको गन्ध

विरासत जोगाउन धौ-धौ: दोलखामा अस्तित्व संकटमा परेपछि एमालेको छटपटी

भित्र अन्तर्घातको डर, बाहिर धाँधलीको शोर: एमाले दोलखाको अस्तित्व जोगाउने कसरत

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क ८ चैत २०८२, आइतवार
विरासत जोगाउन धौ-धौ: दोलखामा अस्तित्व संकटमा परेपछि एमालेको छटपटी

News Summary


 

  • दोलखामा नेकपा एमालेको गढ भत्किएपछि, निर्वाचन हारको 'निर्मम समीक्षा' ले पार्टीभित्र आन्तरिक विद्रोह, गुटबन्दी र नेतृत्वको असफलतालाई छताछुल्ल पारेको छ।
  • एमालेले आफ्नै जिम्मेवार नेताहरूबाट 'अन्तर्घात' भएको गम्भीर आरोप लगाएको छ, र नयाँ शक्तिको उदयका कारण आफ्नो अस्तित्व सङ्कटमा परेको स्वीकार गरेको छ।

चरीकोट (दोलखा) । कुनै समय नेकपा एमालेको गढ मानिने दोलखामा पछिल्लो निर्वाचन परिणामले पार्टीको जग हल्लिएको छ। निर्वाचनमा अनपेक्षित पराजय भोगेपछि रक्षात्मक बनेको एमालेभित्र अहिले अस्तित्व जोगाउने छटपटी सुरु भएको छ।


​पार्टीको विरासत गुमेपछि एमाले दोलखा जिल्ला कमिटीले चैत ६ गते विस्तारित बैठक डाकेर 'निर्मम समीक्षा' गरेको छ। बैठकपछि जारी प्रेस वक्तव्यले एमालेभित्रको आन्तरिक विद्रोह, गुटबन्दी र नेतृत्वको असफलतालाई छताछुल्ल पारेको छ।


​'मौन विद्रोह' कि आन्तरिक अन्तर्घात?
​एमाले दोलखाले चुनावी हारलाई 'जनताको मौन विद्रोह' को संज्ञा दिँदै चित्त बुझाउने कोसिस गरेको छ। तर, वक्तव्यको भित्री आशय हेर्दा पार्टीभित्रै लागेको 'अन्तर्घातको डढेलो' ले एमाले थिलथिलो भएको देखिन्छ। एमालेले आफ्नै पार्टीका जिम्मेवार पदमा बसेका नेताहरूले चुनाव हराउन षड्यन्त्र गरेको र मत बदलेको गम्भीर आरोप लगाएको छ।
"विभिन्न जिम्मेवारीमा रहेर आफैँले मत बदल्ने र पार्टीलाई हराउन षड्यन्त्र गर्नेहरू पहिचान भएका छन्, उनीहरूलाई अभिलेखमा राखी समीक्षा गरिनेछ," अध्यक्ष नरबहादुर श्रेष्ठद्वारा जारी वक्तव्यमा भनिएको छ। यसले एमालेभित्र अब 'अन्तर्घाती' खोज्ने नाममा अर्को आन्तरिक कलह सुरु हुने सङ्केत गरेको छ।


बुथ कब्जाको पुरानो 'अलाप'
​मैदानमा पछारिएपछि एमालेले आफ्नो कमजोरी ढाकछोप गर्न तामाकोशीको मालु मतदान केन्द्रमा बुथ कब्जा र धाँधली भएको 'पुरानो अलाप' पुनः दोहोर्‍याएको छ। आफ्ना एजेन्ट कुटिएको र मतपत्र लुटिएको दाबी गर्दै एमालेले दोषीमाथि कारबाहीको माग गरेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, यो हारको आक्रोश पोख्ने र कार्यकर्ताको मनोबल थाम्ने एउटा बहाना मात्र हो।


नयाँ शक्तिको उदय र एमालेको सातो
​वक्तव्यमा एमालेले 'लोकप्रियतावाद' (Populism) र वैकल्पिक राजनीतिको लहरले युवा पुस्तालाई प्रभावित पारेको स्वीकार गरेको छ। यसले दोलखामा एमालेको परम्परागत सङ्गठन नयाँ शक्ति र युवा मनोविज्ञानका अगाडि निरीह बनेको पुष्टि गर्छ।
​आफ्नो अस्तित्व सङ्कटमा परेपछि एमालेले चैत १० देखि जेठ मसान्तसम्म जिल्लाव्यापी अभियान चलाउने घोषणा गरेको छ। ग्यास अभाव, महँगी र इन्धनको मूल्यवृद्धिको मुद्दा उठाएर जनताको सहानुभूति बटुल्ने एमालेको रणनीति छ। तर, आफ्नै घरभित्रको पहिरो रोक्न नसकेको एमालेलाई गुमेको विरासत फर्काउन 'फलामको चिउरा' चपाउनु सरह हुने देखिन्छ।

538 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट