Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखा | स्वास्थ्य | योग तथा ध्यान

दोलखामा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानअन्तर्गत योग–ध्यान कार्यक्रम सुरु

चरिकोटमा दुई दिने कार्यक्रम, मानसिक स्वास्थ्य र स्वस्थ जीवनशैलीमा जोड

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० चैत २०८२, मङ्गलवार
दोलखामा ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ अभियानअन्तर्गत योग–ध्यान कार्यक्रम सुरु

News Summary


  • दोलखाको चरिकोटमा "मेरो स्वास्थ्य, मेरो जिम्मेवारी" नारासहित दुई दिने योग, ध्यान तथा प्राणायाम कार्यक्रम सुरु भएको छ।
  • आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा स्वास्थ्य पर्यटन प्रवर्द्धन र शारीरिक-मानसिक स्वास्थ्य सुधार यसको मुख्य उद्देश्य हो।
  • कार्यक्रममा मानसिक स्वास्थ्य, तनाव व्यवस्थापन, स्वस्थ जीवनशैली र आयुर्वेद तथा अष्टाङ्ग योगबारे करिब ४२ जना सहभागीलाई प्रशिक्षण दिइयो।

दोलखा । दोलखाको चरिकोटमा “मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” भन्ने नारासहित दुई दिने योग, ध्यान तथा प्राणायाम कार्यक्रम सुरु भएको छ। आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजनामा स्वास्थ्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रमको उद्घाटन सहायक प्रमुख जिल्ला अधिकारी औलाख बहादुर आलेले गरेका हुन्। उनले बदलिँदो जीवनशैलीका कारण मानिसहरूमा मानसिक तनाव बढ्दै गएको भन्दै यस्ता कार्यक्रमले शारीरिक र मानसिक स्वास्थ्य सुधारमा मद्दत गर्ने बताए।

कार्यक्रममा मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन र स्वस्थ जीवनशैली विकासमा विशेष जोड दिइएको छ। जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख डबल पाण्डेले स्वास्थ्य पर्यटनमार्फत दोलखालाई योग र ध्यानको केन्द्र बनाउन सकिने धारणा राखे। कार्यक्रमका अध्यक्ष राजन बस्नेतले आयुर्वेद र अष्टाङ्ग योगलाई दैनिक जीवनमा अपनाउनुपर्ने बताए।

पहिलो दिन करिब ४२ जना सहभागीलाई आयुर्वेदको परिचय, अष्टाङ्ग योगको महत्त्व, योग तथा प्राणायाम अभ्यास, जीवनशैली व्यवस्थापन, आहारविहार र दिनचर्याबारे प्रशिक्षण दिइयो। साथै, थेराप्युटिक योग र उत्प्रेरणामूलक सत्रहरू पनि सञ्चालन गरिएका थिए।

कार्यक्रममा पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति, जीवन विज्ञान परिषद, जीवन विज्ञान प्रयोगशाला र ब्रह्माकुमारी राजयोग दोलखालगायत संस्थाहरूको सहभागिता रहेको थियो। साथै विभिन्न सामाजिक तथा आध्यात्मिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

428 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट