ओली पक्राउको विरोधमा एमाले दोलखा आन्दोलित, अविलम्ब रिहाइको माग
सरकार गठनको २४ घण्टा नबित्दै चालिएको कदमले मुलुकमा अस्थिरता र द्वन्द्व निम्त्याउने खतरा
304
SharesNews Summary
- नेकपा (एमाले) दोलखाले बालेन नेतृत्वको सरकारले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेकोमा गम्भीर ध्यानाकर्षण जनाउँदै यसलाई 'राजनीतिक प्रतिशोध' भनेको छ।
- उनीहरूले ओलीको गिरफ्तारीलाई 'लोकतान्त्रिक मूल्य-मान्यतामाथिको ठाडो प्रहार' र पूर्वाग्रही 'कार्की आयोगको प्रतिवेदन' मा आधारित 'स्टन्टबाजी' को संज्ञा दिएका छन्।
- एमाले दोलखाले अध्यक्ष ओलीको अविलम्ब र बिनासर्त रिहाइको माग गर्दै लोकतन्त्रप्रेमी नागरिकहरूलाई शान्तिपूर्ण प्रतिवादमा उत्रन अपील गरेको छ।
दोलखा । नवनिर्वाचित बालेन नेतृत्वको सरकारले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको घटनाप्रति नेकपा (एमाले) जिल्ला कमिटी दोलखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला कमिटीले सरकारको यो कदमलाई 'राजनीतिक प्रतिशोध' को पराकाष्ठा भनेको हो।
जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, "राजनीतिक प्रतिशोध साँध्ने नियतले सरकार गठन भएको २४ घण्टा नबित्दै हतार-हतारमा गरिएको यो कदम लोकतान्त्रिक मूल्य-मान्यता, विधिको शासन र संवैधानिक प्रक्रियामाथिको ठाडो प्रहार हो।"
'कार्की आयोगको प्रतिवेदन पूर्वाग्रही'
एमाले दोलखाले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने नाममा गरिएको गिरफ्तारीलाई सरकारको 'स्टन्टबाजी शैली' संज्ञा दिएको छ। उक्त प्रतिवेदन स्वयं पूर्वाग्रही, एकाङ्की र यथार्थपरक नभएको दाबी गर्दै एमालेले यसैलाई आधार बनाएर गरिएको पक्राउले सरकारको अधिनायकवादी सोच र प्रतिशोधपूर्ण राजनीतिक चरित्र उजागर गरेको आरोप लगाएको छ।
"यस्तो प्रवृत्तिले मुलुकलाई द्वन्द्व, अस्थिरता र अविश्वासतर्फ धकेल्ने खतरा बढाउँछ," विज्ञप्तिमा उल्लेख छ।
शान्तिपूर्ण प्रतिवादको अपील
विज्ञप्तिमार्फत एमाले दोलखाले आफ्ना पार्टी अध्यक्ष ओलीलाई अविलम्ब र बिनासर्त रिहा गर्न जोडदार माग गरेको छ। साथै, पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा लोकतन्त्रप्रेमी नागरिकहरूलाई संयमित, शान्तिपूर्ण र लोकतान्त्रिक ढङ्गले प्रतिवादमा उत्रन हार्दिक अपील समेत गरिएको छ।
विज्ञप्तिको अन्त्यमा भनिएको छ, "लोकतन्त्र, राष्ट्रियता र जनअधिकारको रक्षा हाम्रो प्रमुख प्राथमिकता हो। अन्याय र पूर्वाग्रहमा आधारित प्रतिशोधपूर्ण सरकारको कदमविरुद्ध नेकपा (एमाले) दोलखा सशक्त रूपमा उभिने प्रतिबद्धता व्यक्त गर्दछ।"
बालेन नेतृत्वको सरकारले कार्यभार सम्हालेको छोटो समयमै प्रमुख प्रतिपक्षी दलका नेतालाई पक्राउ गरेपछि अहिले राजनीतिक वृत्तमा तीव्र बहस र तरंग पैदा भएको छ।
304 Shares
