मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतद्वारा दोलखा कारागार र हिरासतको अनुगमन
नेपाल बार एसोसिएसन दोलखाका अध्यक्ष कृष्ण बस्नेत लगायतद्वारा स्वागत; कैदीबन्दीको अवस्था र मानवअधिकारबारे चासो।
627
SharesNews Summary
- बागमती प्रदेशकी मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले दोलखा कारागार र जिल्ला प्रहरी हिरासत कक्षको स्थलगत अनुगमन गर्नुभयो।
- उहाँले कैदीबन्दीको अवस्था, स्वास्थ्य सुविधा, खानपान र मानवअधिकारबारे जानकारी लिँदै कानुनी उपचारमा पहुँचबारे छलफल गर्नुभयो।
- यो भ्रमणलाई जिल्लामा कानुनी शासनको प्रत्याभूति र कारागार सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।
दोलखा । बागमती प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता अप्सरा बस्नेतले दोलखा कारागार र जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको स्थलगत अनुगमन गर्नुभएको छ। मंगलबार दोलखा आइपुग्नुभएका बस्नेतले कारागारमा रहेका कैदीबन्दीको अवस्था र हिरासतको भौतिक पूर्वाधारबारे जानकारी लिनुभएको हो।
अनुगमनका क्रममा मुख्य न्यायाधिवक्ता बस्नेतले कैदीबन्दीहरूले पाइरहेको स्वास्थ्य सुविधा, खानपान र मानवअधिकारको अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो। उहाँले हिरासतमा रहेका व्यक्तिहरूको कानुनी उपचारमा पहुँच र न्यायिक प्रक्रियाको अवस्थाबारे समेत सुरक्षा निकायका अधिकारीहरूसँग छलफल गर्नुभयो।
यसअघि, मुख्य न्यायाधिवक्ता बस्नेतलाई सदरमुकाम चरिकोटमा नेपाल बार एसोसिएसन जिल्ला कार्यसमिति दोलखाले स्वागत गरेको थियो। बारका जिल्ला अध्यक्ष कृष्ण बस्नेत लगायतका कानुन व्यवसायीहरूले उहाँलाई स्वागत गर्दै जिल्लाको समग्र न्यायिक वस्तुस्थितिबारे जानकारी गराउनुभएको थियो।
अनुगमन टोलीमा नेपाल बारका प्रतिनिधि, सरकारी वकील कार्यालयका पदाधिकारी र सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। मुख्य न्यायाधिवक्ताको यो भ्रमणलाई जिल्लामा कानुनी शासनको प्रत्याभूति र कारागार सुधारका लागि महत्त्वपूर्ण मानिएको छ।
627 Shares