गौरीशंकरमा ८ दिने मेलमिलाप तालिम सम्पन्न, गाउँकै विवाद गाउँमै सल्टिने
स्थानीय स्तरमा विवाद समाधानका लागि दक्ष मेलमिलापकर्ता तयार पार्दै गौरीशंकर गाउँपालिका।
293
SharesNews Summary
गौरीशंकर गाउँपालिकाद्वारा ८ दिने 'मेलमिलाप सम्बन्धी आधारभूत तालिम' सञ्चालन।
स्थानीय स्तरका विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने व्यावहारिक सीप प्रदान गर्ने।
सहभागीहरूलाई विवाद समाधान, मध्यस्थता र कानुनी प्रक्रियाबारे प्रशिक्षित गरियो।
गाउँपालिकाभित्र शान्ति, सद्भाव र सामाजिक समरसता प्रवर्द्धन हुने।
दोलखा। गौरीशंकर गाउँपालिकामा सञ्चालित ८ दिने 'मेलमिलाप सम्बन्धी आधारभूत तालिम' मंगलबार सफलतापूर्वक सम्पन्न भएको छ । स्थानीय स्तरमा उत्पन्न हुने विभिन्न विवादहरूलाई मेलमिलापका माध्यमबाट समाधान गर्ने उद्देश्यले गाउँपालिकाले चैत १८ गतेदेखि उक्त तालिम सञ्चालन गरेको थियो ।
तालिमको समापन गर्दै गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले समाजमा हुने स–साना विवादका लागि अदालत धाउनुपर्ने बाध्यता अन्त्य गर्न यो तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दै समाजमा शान्ति र सद्भाव कायम राख्न सहभागीहरूलाई आग्रह समेत गरे ।
त्यस्तै, गाउँपालिकाकी उपाध्यक्ष उमालुङ्गेली मगर शेर्पाले न्यायिक समितिलाई थप प्रभावकारी बनाउन दक्ष मेलमिलापकर्ताको आवश्यकता रहेको र यो तालिमले त्यो रिक्तता पूरा गर्ने विश्वास व्यक्त गरिन् ।
तालिममा सहभागीहरूलाई विवाद पहिचान, समाधानका कानुनी र व्यावहारिक सीप तथा मध्यस्थता गर्ने कलाबारे प्रशिक्षण दिइएको थियो । तालिमपछि गाउँपालिकाभित्र सामाजिक समरसता प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
समापन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटी, ५ नं. वडाका अध्यक्ष सुन्दर खड्का, ७ नं. वडाका अध्यक्ष सोनाम शेर्पा लगायत प्रशिक्षक तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
गाउँपालिकाले तालिमलाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक र उत्साहजनक सहभागिता जनाउने प्रशिक्षार्थीहरूलाई धन्यवाद ज्ञापन गरेको छ । तालिमपछि अब स्थानीय विवादहरू वडा तहमै मेलमिलापका माध्यमबाट टुङ्ग्याउन सहज हुने देखिएको छ ।
293 Shares