दोलखामा विकास निर्माण ठप्प हुने खतरा, व्यवसायीले घोषणा गरे 'निर्माण आपतकाल'
इन्धन र निर्माण सामग्रीको अनियन्त्रित मूल्यवृद्धिले आयोजनाहरू अलपत्र पर्ने जोखिम, सरकारसँग 'मूल्य समायोजन मार्ग निर्देशिका–२' जारी गर्न माग।
1499
SharesNews Summary
- दोलखाका निर्माण व्यवसायीले इन्धन र निर्माण सामग्रीमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण 'निर्माण आपतकाल' घोषणा गर्दै जिल्लाका विकास निर्माणका काम अघि बढाउन नसकिने बताएका छन्।
- उनीहरूले सरकारले कृत्रिम अभाव र मूल्यवृद्धिमा मूकदर्शक बनेको तथा अव्यवहारिक मूल्य समायोजन प्रणालीले व्यवसायी मारमा परेको आरोप लगाएका छन्।
- संघले तत्काल 'मूल्य समायोजन मार्ग निर्देशिका-२' जारी गर्न र सबै ठेक्कामा मूल्य समायोजन गर्न माग गर्दै, माग पूरा नभए अर्बौंका विकास आयोजना ठप्प पार्ने चेतावनी दिएको छ।
दोलखा । इन्धन र निर्माण सामग्रीमा भएको अनियन्त्रित मूल्यवृद्धिका कारण निर्माण उद्योग नै धराशायी हुने स्थिति आएको भन्दै दोलखाका निर्माण व्यवसायीले ‘निर्माण आपतकाल’ घोषणा गरेका छन्। दोलखा जिल्ला निर्माण व्यवसायी संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान परिस्थितिमा जिल्लाका कुनै पनि विकास निर्माणका कार्यहरू अघि बढाउन नसकिने स्पष्ट पारेको हो। मध्यपूर्वमा जारी तनावका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको संघको ठहर छ।
बजारमा इन्धन, बिटुमिन, सिमेन्ट र डण्डी जस्ता सामग्रीको कृत्रिम अभाव र मूल्यवृद्धि हुँदा पनि सरकार मूकदर्शक बनेको संघले आरोप लगाएको छ। निर्माण कार्यको मूल्य समायोजनका लागि नेपाल राष्ट्र बैंकको उपभोक्ता मूल्य सूचांकलाई आधार मानिने भए पनि बजारमा मूल्य उच्च हुँदा सरकारी सूचांकमा भने घटेको देखाइने अव्यवहारिक प्रणालीले व्यवसायीहरू मारमा परेको विज्ञप्तिमा उल्लेख छ। संघका महासचिव लाल बहादुर तामाङले बजारको महँगी र सरकारी तथ्यांकबीच तालमेल नहुँदा तोकिएको लागत र समयमा आयोजना सम्पन्न गर्नु प्राविधिक र आर्थिक दुवै हिसाबले असम्भव भएको बताउनुभएको छ।
यो परिस्थितिलाई ‘निर्माण आपतकाल’को संज्ञा दिँदै संघले तत्काल ‘मूल्य समायोजन मार्ग निर्देशिका-२’ जारी गर्न र सबै प्रकारका ठेक्काहरूमा मूल्य समायोजनको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरेको छ। पटक-पटक सम्बन्धित निकायलाई पत्राचार गर्दा समेत मागको सुनुवाइ नभएको भन्दै व्यवसायीहरूले कडा असन्तुष्टि व्यक्त गरेका छन्। यदि सरकारले तत्काल राहत प्याकेज र नयाँ मार्ग निर्देशिका जारी नगरे जिल्लाभरका अर्बौंका विकास आयोजनाहरू पूर्ण रूपमा ठप्प पार्ने चेतावनी समेत व्यवसायीहरूले दिएका छन्।
1499 Shares