दोलखाको ओराङमा हप्तादिनदेखि हराइरहेका युवक मृत फेला, दुई जना पक्राउ
एक हप्ताअघि घरबाट निस्किएका सृजनको शव भीरमा फेला, हत्याको आशंकामा दुई स्थानीय युवक प्रहरी नियन्त्रणमा।
3477
SharesNews Summary
- दोलखाका २१ वर्षीय सृजन ठकुरी एक सातादेखि बेपत्ता भएकोमा बिहीबार ओराङस्थित हार्चे खोलाको भीरमा मृत फेला परेका छन्।
- उनको मृत्यु शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धानका लागि दिपेन्द्र तामाङ र देबेन्द्र तामाङ गरी दुई जनालाई नियन्त्रणमा लिएको छ।
- घटना हत्या हो वा भवितव्य भन्नेबारे पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्र खुल्नेछ।
दोलखा । दोलखाको बिगु गाउँपालिका–२ ओराङबाट बेपत्ता भएका २१ वर्षीय सृजन ठकुरी मृत अवस्थामा फेला परेका छन् । गत वैशाख ४ गतेदेखि हराइरहेका उनको शव शुक्रबार ओराङस्थित हार्चे खोलाको भीरमा फेला परेको हो ।
वडा अध्यक्ष दीपक ठकुरीका अनुसार घरबाट निस्किएपछि सम्पर्कविहीन भएका सृजनको शव खोजी गर्ने क्रममा भीरको अप्ठ्यारो खोँचमा अड्किएको अवस्थामा भेटिएको थियो । परिवार र स्थानीयले एक सातादेखि उनको खोजी गरिरहेका थिए ।
घटना शंकास्पद: दुई जना नियन्त्रणमा सृजनको मृत्युको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ । बिगु–२ बाट दिपेन्द्र तामाङ र देबेन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
"शव फेला परेपछि घटनाको गम्भीरतालाई हेरेर शंकास्पद देखिएका दुई व्यक्तिलाई सोधपुछ र अनुसन्धानका लागि नियन्त्रणमा लिएका छौँ," प्रहरी स्रोतले भन्यो ।घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । शवलाई भीरबाट निकाल्ने र कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । घटना हत्या हो वा भवितव्य भन्नेबारे पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मात्रै खुल्ने बताइएको छ ।
पक्राउ परेका व्यक्तिहरू र मृतकबीचको सम्बन्ध तथा घटनाको कारणबारे प्रहरीले थप खुलाउन चाहेको छैन । स्थानीयले भने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
3477 Shares