चरीकोटको सडकमा घाइते कुकुरको चित्कार: रातभर झरीमा भिज्यो, उपचारको आशा पलाए पनि ओत लाग्ने ठाउँ छैन
रातभरिको झरीमा भिज्यो घाइते कुकुर; उपचारको आश्वासन त आयो, तर सुरक्षित आश्रय (सेल्टर) नहुँदा व्यवस्थापनमा सकस।
563
SharesNews Summary
- दोलखाको चरीकोटमा मोटरसाइकलको ठक्करले प्यारालाइसिस भई दयनीय अवस्थामा सडकमा छटपटाइरहेको एक कुकुरले स्थानीयलाई चिन्तित बनाएको छ।
- पशु सेवा कार्यालयले उपचारको प्रतिबद्धता जनाए पनि, घाइते कुकुरलाई उपचारपछि सुरक्षित राख्न आश्रयस्थल (सेल्टर) नहुनु मुख्य समस्या बनेको छ।
- यो घटनाले भीमेश्वर नगरपालिकामा सडकमा आश्रित जीवजन्तुका लागि आश्रयस्थलको अभाव र स्थानीय सरकारको पशु कल्याणप्रतिको उदासीनतालाई उजागर गर्दै यस्तो सेल्टरको तत्काल आवश्यकतामा जोड दिएको छ।
चरीकोट (दोलखा) ।दोलखाको सदरमुकाम चरीकोटस्थित पुरानो बसपार्कको पेटीमा पछिल्लो केही दिनदेखि एउटा कुकुर छटपटाइरहेको छ। गुडिरहेको मोटरसाइकलले ठक्कर दिएपछि पछिल्लो भाग नचल्ने (प्यारालाइसिस) गरी घाइते भएको यो बेवारिसे कुकुर अहिले उठ्न समेत नसक्ने अवस्थामा छ।
मंगलबार राती दोलखामा भीषण वर्षा भयो। हिँड्न नसक्ने अवस्थामा रहेको त्यो घाइते कुकुर रातभरिको पानीमा भिज्न बाध्य भयो। बुधबार बिहान जब उज्यालो भयो, उसको थुरथुर कामिरहेको शरीर र मलिन आँखा देख्नेहरूका लागि त्यो दृश्य निकै कष्टकर र पीडादायी थियो।
कुकुरको यो दयनीय अवस्था देखेपछि स्थानीयको पहलमा बुधबार जिल्लास्थित पशु सेवा कार्यालय र भीमेश्वर नगरपालिकाको पशु शाखामा समन्वय गरिएको छ। जानकारी पाएपछि दुवै निकायका प्राविधिकहरूले घटनास्थलमै पुगेर उपचार गरिदिने प्रतिबद्धता त जनाएका छन्, तर एउटा गम्भीर चुनौती अझै उस्तै छ— उसलाई राख्ने कहाँ?
भीमेश्वर नगरपालिकाका पशु अधिकृतका अनुसार उपचार सम्भव भए पनि बिरामी पशुलाई राख्ने 'सेल्टर' (आश्रयस्थल) नहुँदा समस्या देखिएको छ। "हामीले औषधि र उपचार त गरिदिन्छौँ, तर यो घाइते कुकुरलाई फेरि त्यही सडकमै छाड्ने हो भने उसको अवस्था झनै बिग्रिन सक्छ, उसलाई नभिज्ने ओभानो ठाउँको खाँचो छ," प्राविधिकहरू बताउँछन्।
चरीकोट जस्तो विकासोन्मुख सहर र जिल्लाको सदरमुकाममा सडकमा आश्रित जीवजन्तुका लागि एउटा पनि आश्रयस्थल नहुनुले स्थानीय सरकारको पशु कल्याणप्रतिको उदासीनता झल्काउँछ। विकसित देशहरूमा मात्र नभई नेपालकै पनि कतिपय सहरहरूमा बिरामी पशुका लागि 'एनिमल सेल्टर' को व्यवस्था हुन्छ। तर, दोलखामा यस्ता जीवजन्तु घाइते वा बिरामी पर्दा तिनको संरक्षण गर्ने कुनै निकाय नहुँदा समस्या देखिएको छ।
स्थानीय बासिन्दाहरू भन्छन्, "नगरपालिकाले भौतिक पूर्वाधारलाई मात्र प्राथमिकता दिँदा सडकमा आश्रित प्राणीहरूको जीवन रक्षा र व्यवस्थापनको विषय ओझेलमा परेको छ। उपचारको आश्वासन त आयो, तर सुरक्षित ओत नहुँदा घाइते प्राणीको पीडा कम हुने छाँटकाँट देखिएको छैन।"
मंगलबार रातीको घटनाले के पुष्टि गरेको छ भने, दोलखामा उपचार भन्दा पनि यस्ता बेसहारा जीवका लागि एउटा व्यवस्थित 'आश्रयस्थल' निर्माण गर्नु अपरिहार्य भइसकेको छ।
563 Shares