Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

स्थानीय तहको सक्रियतामा ६ दिने क्षयरोग खोजपडताल सम्पन्न, ५ संक्रमितको उपचार सुरु।

दोलखामा ६ दिने क्षयरोग खोजपडताल अभियान सम्पन्न, ५ जना नयाँ बिरामी भेटिए

AI X-Ray प्रविधि प्रयोग गरी भीमेश्वर, मेलुङ, कालिन्चोक र बिगुमा गरिएको स्क्रिनिङबाट १७ शङ्कास्पद फेला

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १७ वैशाख २०८३, बिहिवार
दोलखामा ६ दिने क्षयरोग खोजपडताल अभियान सम्पन्न, ५ जना नयाँ बिरामी भेटिए

News Summary


दोलखामा वैशाख ११ गतेदेखि १६ गतेसम्म विशेष क्षयरोग खोजपडताल अभियान सञ्चालन गरियो।

अभियान सम्बन्धित स्थानीय तहहरूको आयोजना, जनस्वास्थ्य कार्यालय दोलखाको नेतृत्व र बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा सम्पन्न भएको हो।

परीक्षणका क्रममा भीमेश्वर नगरपालिकामा ४ जना र मेलुङ गाउँपालिकामा १ जना गरी कुल ५ जनामा क्षयरोग पुष्टि भएको छ।

समुदायस्तरमा बिरामी खोज्न पहिलो पटक आधुनिक 'AI X-Ray' प्रविधिको प्रयोग गरिएको थियो।

दोलखा । दोलखा जिल्लामा लुकेर रहेका क्षयरोगका बिरामी खोज्न सञ्चालन गरिएको ६ दिने विशेष अभियान सम्पन्न भएको छ। सम्बन्धित स्थानीय तहहरूको आयोजना, जनस्वास्थ्य कार्यालय दोलखाको नेतृत्व र बागमती प्रदेश स्वास्थ्य निर्देशनालयको समन्वयमा वैशाख ११ गतेदेखि १६ गतेसम्म जिल्लाका विभिन्न स्थानमा यो अभियान चलाइएको हो।

​अभियानका क्रममा आधुनिक 'AI X-Ray' प्रविधि प्रयोग गरी गरिएको स्क्रिनिङबाट ५ जनामा क्षयरोग पुष्टि भएको छ भने १७ जना शङ्कास्पद बिरामी फेला परेका छन्। स्थानीय सरकारको प्रत्यक्ष सहभागिता र समन्वयमा सञ्चालित यस अभियानका क्रममा भीमेश्वर नगरपालिकाका विभिन्न वडामा ४ जना र मेलुङ गाउँपालिकामा १ जना गरी कुल ५ जनामा संक्रमण देखिएको हो।

​यस्तै, जिल्ला कारागार, कालिन्चोक र बिगु गाउँपालिकामा गरी फेला परेका अन्य १७ जना शङ्कास्पद व्यक्तिको खकार थप जाँचका लागि प्रयोगशाला पठाइएको छ। ती क्षेत्रमा पनि स्थानीय तहकै प्राविधिक सहयोग र व्यवस्थापनमा परीक्षण कार्य सम्पन्न भएको थियो।

​यस अभियानलाई प्राविधिक सहयोग पुर्‍याउन सिन्धुली अस्पतालका मेडिकल अधिकृत डा. गणेश दुलाल र रेडियोग्राफर राजकुमार खुलालको टोलीले सक्रिय भूमिका निर्वाह गरेको थियो। स्थानीय तहले समुदायस्तरमै स्वास्थ्य शिविरको वातावरण मिलाइदिएका कारण आधुनिक प्रविधिको सहयोगले बिरामीहरू समयमै पहिचान गर्न सहज भएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

​कार्यालयका प्रमुख डिलेन्द्र बुढा मगरले रोग पुष्टि भएका बिरामीको उपचार तुरुन्तै सुरु गरिएको जानकारी दिए। जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ र निरीक्षक प्रकाश घिमिरेले स्थानीय तहहरूसँगको यस्तो साझेदारीले समुदायमा संक्रमण फैलिन नदिन र क्षयरोग मुक्त जिल्ला बनाउने लक्ष्य प्राप्तिमा ठूलो सहयोग पुग्ने बताए। कार्यक्रम सफल बनाउन सक्रिय भूमिका खेल्ने स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूलाई कार्यालयले धन्यवाद समेत ज्ञापन गरेको छ।

573 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट