जिरी नगरपालिका 'पूर्ण खोप सुनिश्चित' घोषित: स्वास्थ्यकर्मी र स्वयंसेविकाको प्रशंसा
स्वास्थ्यकर्मी र स्वयंसेविकाको प्रशंसा गर्दै मेयरले भने- "खोपको पहुँचबाट कोही बालबालिका छुट्ने छैनन्
361
SharesNews Summary
- दोलखाको जिरी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ।
- स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अहोरात्र खटाइले यो सफलता सम्भव भएको हो।
- यो घोषणासँगै दोलखा जिल्लामा पूर्ण खोप सुनिश्चित हुने स्थानीय तहको संख्या ४ पुगेको छ।
दोलखा । दोलखाको जिरी नगरपालिकालाई 'पूर्ण खोप सुनिश्चित' पालिका घोषणा गरिएको छ। आइतबार एक विशेष समारोहका बीच नगरपालिकाले यो महत्वपूर्ण उपलब्धि हासिल गरेको आधिकारिक घोषणा गरेको हो।
नगर प्रमुख मित्र जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय अधिकारी रामप्रसाद पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मेयर जिरेलले जिरीलाई पूर्ण खोपयुक्त बनाउन अहोरात्र खटिने स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिकाको उच्च प्रशंसा गरे। उनले घर–घरमै पुगेर तथ्याङ्क संकलन गर्ने र खोप सेवा पुर्याउने टोलीको मेहनतले नै यो सफलता सम्भव भएको बताए।
"हामीले एउटा महत्वपूर्ण खुड्किलो पार गरेका छौँ," मेयर जिरेलले भने, "आगामी दिनमा पनि कुनै पनि बालबालिका खोपको पहुँचबाट बाहिर नहुने कुरामा नगरपालिका पूर्ण प्रतिबद्ध रहनेछ।"
जिरी नगरपालिकाको यो घोषणासँगै दोलखा जिल्लामा पूर्ण खोप सुनिश्चित हुने स्थानीय तहको संख्या ४ पुगेको छ। यसअघि जिल्लाका अन्य तीन पालिकाले यो लक्ष्य हासिल गरिसकेका छन्।
कार्यक्रममा जिल्लास्थित सरोकारवाला निकायका प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्ष र स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
361 Shares