मेलुङ ५ र ६ जोड्ने सडक निर्माण अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न
प्रदेश सरकार र गाउँपालिकाको ७०/३० प्रतिशत समपुरक योजनामा ५ किलोमिटर सडक स्तरोन्नति
668
SharesNews Summary
१.९ करोड लागतको मेलुङ ५ र ६ जोड्ने सडक निर्माण ९० प्रतिशत सम्पन्न भएको छ।
५ किलोमिटर सडकमा सोलिङ, बक्स सोलिङ, आरसीसी ढलान, नाला र ग्याविन जाली निर्माण गरिएको छ।
प्रदेश सरकार र गाउँपालिकाको समपुरक योजनाअन्तर्गत निर्माण भइरहेको सडक अन्तिम चरणमा पुगेको छ।
दोलखा । मेलुङ गाउँपालिका ५ र ६ अन्तर्गत पर्ने मेलुङ-मानेडाँडा-मिल्तीखोला-रामेछाप सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकार र गाउँपालिकाको ७०/३० प्रतिशत समपुरक योजनाअन्तर्गत निर्माण भइरहेको उक्त सडकको शुक्रबार स्थलगत अनुगमन गरिएको हो।
१ करोड ९० लाख रुपैयाँ लागत रहेको योजनामा प्रदेश सरकारको १ करोड ३३ लाख रुपैयाँ तथा मेलुङ गाउँपालिकाको ५७ लाख रुपैयाँ लगानी रहेको छ। कुल ५ किलोमिटर लम्बाइ रहेको सडकमा हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ।
योजनाअन्तर्गत ६९० मिटर सडक सोलिङ, ४९४ मिटर बक्स सोलिङ, १३० मिटर आरसीसी ढलान, १०५ मिटर नाला तथा ७०४.५ घनमिटर ग्याविन जाली निर्माण गरिएको छ। बाँकी कामसमेत अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ।
शुक्रबार गरिएको अनुगमनमा गाउँपालिका अध्यक्ष हिरा तामाङ, उपाध्यक्ष गायत्री आचार्य, वडा अध्यक्ष राजु कुसुम लामा, अन्य जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासी सहभागी थिए।
अनुगमनपछि अध्यक्ष हिरा तामाङले स्थानीयको दैनिकीसँग प्रत्यक्ष जोडिएका पूर्वाधार योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए। उनले निर्माणको गुणस्तरमा कुनै सम्झौता नगरी निर्धारित समयमै योजना सम्पन्न गरिने उल्लेख गरे।
सडक निर्माण सम्पन्न भएपछि मेलुङ ५ र ६ का बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि उपज ढुवानी, स्थानीय व्यापार तथा सेवा प्रवाहमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
668 Shares