अब सार्वजनिक बिदा घट्ने, सरकारले गठन गर्यो अध्ययन कार्यदल
275
Sharesकाठमाडौँ । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू भएसँगै हाल कायम रहेका अन्य सार्वजनिक बिदाहरूको पुनरावलोकन गर्ने तयारी गरेको छ । यसका लागि सार्वजनिक बिदाको संख्या र औचित्यबारे अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरिएको छ।
मुख्यसचिवमा गोविन्दबहादुर कार्की नियुक्त भएपछि बसेको सचिवस्तरीय बैठकले उक्त निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिअनुसार शनिबार र आइतबार गरी हप्तामा दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि विद्यमान सार्वजनिक बिदाहरूको संख्या र आवश्यकताबारे पुनरावलोकन गर्नुपर्ने देखिएकाले कार्यदल गठन गर्ने निर्णय गरिएको हो।
कार्यदल गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठन हुनेछ। उक्त कार्यदलले सार्वजनिक बिदा घटाउने विषयमा अध्ययन गरी आवश्यक निर्णयका लागि सिफारिस गर्नेछ।
कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय रअर्थ मन्त्रालयका प्रतिनिधिहरू पनि सदस्य रहनेछन्।
सार्वजनिक बिदाको पुनरावलोकन सम्बन्धी अध्ययन गरी प्रतिवेदन तयार गर्न कार्यदललाई १५ दिनको समय दिइनेछ। अध्ययन सम्पन्न भएपछि कार्यदलले आफ्नो प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।
275 Shares