विपद्को घडीमा जनतासँगै अध्यक्ष विश्वास कार्की, पीडितको आँसु पुछ्न घरदैलोमै पुगे
बाढीपहिरो प्रभावित बस्तीमा पुगेर क्षतिको स्थलगत अनुगमन, राहत र पुनर्स्थापनाको प्रतिबद्धता।
763
SharesNews Summary
- दोलखाको गौरीशंकर गाउँपालिकामा अविरल वर्षाले धेरै परिवारको घर समेत खोस्यो।
- गाउँपालिका अध्यक्ष विश्वास कार्कीले पीडित परिवारलाई राहत र पुनःस्थापनाको भरोसा दिलाए।
- गाउँपालिकाले पूर्ण रूपमा घर गुमाएका परिवारलाई तीन लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्ने ।
दोलखा । मंगलबार रातिदेखि परेको अविरल वर्षाले दोलखाको गौरीशंकर गाउँपालिकाका धेरै परिवारको निद्रा मात्रै उडाएन, वर्षौंदेखि जोडेको आश्रयसमेत खोस्यो । बिहान उज्यालो हुँदै गर्दा कतै घरमाथि पहिरो खसेको थियो, कतै आँगन चिरिएको थियो । कोही आफ्नो घरबाट भागेर छिमेकीकहाँ पुगेका थिए, कोही खुला ठाउँमा बसेर आकाशतिर हेर्दै वर्षा रोकिने प्रतीक्षा गरिरहेका थिए । सबैको मनमा एउटै प्रश्न थियो, अब कहाँ बस्ने?
यही बेला गाउँपालिका अध्यक्ष विश्वास कार्की भने कार्यालयको कोठामा बसेर कागजमा क्षतिको विवरण कुर्दै बसेनन् । उनी सीधै पहिरोले पीडा दिएको बस्तीमै पुगे। साथमा थिए वडा अध्यक्ष दावा शेर्पा, प्राविधिक र गाउँपालिकाको टोली । उनीहरू राहतको भाषण दिन होइन, पीडितको हात समात्न, अवस्था बुझ्न र 'हामी छौं' भन्ने भरोसा दिलाउन पुगेका थिए ।
टोलीको पहिलो पाइला गौरीशंकर गाउँपालिका-८ को खारेस्थित लोङाटामा रोकियो। केही घण्टाअघि मात्रै गएको पहिरोले त्यहाँका घरहरुमामा ठूलो क्षति पुर्याएको थियो । कतिपय घर बस्नै नमिल्ने अवस्थामा थिए। परिवारहरू घरभन्दा बाहिर सुरक्षित ठाउँमा बसेका थिए । अध्यक्ष कार्कीले एक-एक परिवारसँग भेटे, उनीहरूका कुरा सुने। कसैले घर गुमाएको पीडा सुनाए, कसैले भोलिको चिन्ता । प्राविधिक टोलीले क्षतिको विवरण संकलन गरिरहँदा वडा अध्यक्ष दावा शेर्पा स्थानीयसँग राहत र पुनःस्थापनाको तयारीबारे छलफल गरिरहेका थिए ।
त्यसपछि गौरीशंकर ९ का अध्यक्ष ङिमगेली शेर्पा सहितको टोलीको यात्रा टासीनामतर्फ अघि बढ्यो। यहाँ पनि दृश्य उस्तै थियो । पहिरोले धेरै घरमा क्षति पुर्याएको थियो । कतिपय परिवार आफन्तको घरमा आश्रय लिएर बसेका थिए । गाउँमा निराशा थियो, तर अध्यक्ष कार्कीको उपस्थितिले धेरैलाई केही राहतको अनुभूति दिलायो । उनले त्यहाँको निरिक्षण गरे र प्रभावित परिवारलाई गाउँपालिकाले दिने सहयोगबारे पनि स्पष्ट जानकारी दिए ।
उनले सम्झाए, गौरीशंकर गाउँपालिकाले विगतदेखि नै प्राकृतिक विपद्का कारण पूर्ण रूपमा घर गुमाएका परिवारलाई प्रतिघर तीन लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्दै आएको छ । विपद्को खबर आउनेबित्तिकै पहिलो किस्तास्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराइन्छ, त्यसपछि प्राविधिक मूल्याङ्कनका आधारमा बाँकी रकम किस्ताबन्दीमा दिइन्छ ।
अध्यक्ष कार्कीको भनाइ थियो, 'स्थानीय सरकार भनेको जनताको सबैभन्दा नजिकको सरकार हो। दुःखको बेला नागरिकलाई एक्लै छोड्नु हुँदैन। राहत दिनु मात्रै होइन, फेरि आफ्नै घरमा फर्किने वातावरण बनाउनु पनि हाम्रो जिम्मेवारी हो।'
वडा नम्बर-९ टासीनामको अनुगमनपछि टोली अन्य प्रभावित बस्तीमा पनि पुग्यो । सिप्रिङखोला हाइड्रोपावरको मूलखर्क ड्यामसाइट क्षेत्रमा बाढी-पहिरोका बीच भीरमा अड्किएर ज्यान जोगाउन सफल भएका चार जनाको घरमै पुगेर उनीहरूको स्वास्थ्य अवस्था बुझियो । त्यही घटनामा अझै बेपत्ता रहेका चस्मान तामाङको परिवारलाई पनि अध्यक्ष कार्कीले भेटे । परिवारलाई धैर्य गर्न आग्रह गर्दै खोजी तथा उद्धारका लागि सुरक्षा निकायसँग निरन्तर समन्वय भइरहेको जानकारी दिए ।
अहिले गाउँपालिकाको ध्यान राहत वितरण, जोखिमयुक्त बस्तीको पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण र पुनःस्थापनाको कामलाई सँगसँगै अघि बढाउनेमा बढी केन्द्रित छ। वर्षायाम अझै बाँकी रहेकाले जोखिममा रहेका सबैलाई सतर्क रहन पनि आग्रह गरिएको छ।
त्यसो त, विपद्को समयमा जनप्रतिनिधिको वास्तविक परीक्षा यस्तै बेला हुन्छ। निर्णय कक्षमा बसेर निर्देशन दिनुभन्दा नागरिकको घरदैलोमै पुगेर उनीहरूको पीडा सुन्नु धेरै ठूलो कुरा हो। खारेको लोङाटा, टासीनाम र वडा नम्बर ९ का बस्तीहरूमा अध्यक्ष विश्वास कार्कीसहितको टोलीको उपस्थितिले उपस्थितिले स्थानीय सरकार संकटको घडीमा नागरिकसँगै उभिएको छ भन्ने आभास दिलाएको छ । अहिले पहिरोपीडितको सबैभन्दा ठूलो चाहना छ कि, आफ्नो जीवन फेरि सामान्य बनोस्, आफ्नै घरमा फर्किने दिन चाँडै आओस् ।
763 Shares