Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

सामुदायिक प्रहरी साझेदारी कार्यक्रम

हार्चे खोलाको घटनापछि देउलिङ्गेश्वर माविमा विपद् व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

हार्चे खोलाको घटनापछि विद्यार्थी र शिक्षकलाई विपद् जोखिम न्यूनीकरणबारे सचेतना

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १५ साउन २०८३, शुक्रवार
हार्चे खोलाको घटनापछि देउलिङ्गेश्वर माविमा विपद् व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम

News Summary


देउलिङ्गेश्वर माविमा विपद् व्यवस्थापनसम्बन्धी सचेतना कार्यक्रम ।

विद्यार्थी तथा शिक्षकलाई जोखिम न्यूनीकरणबारे जानकारी ।

प्रहरी निरीक्षक विष्णुहरि फुयालद्वारा सहजीकरण ।

वडा अध्यक्ष दीपक ठकुरीसहित प्रहरी, शिक्षक र विद्यार्थीको सहभागिता ।

दोलखा । दोलखाको विगु गाउँपालिका-२, ओराङस्थित देउलिङ्गेश्वर माध्यमिक विद्यालयमा विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी विपद् व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक विष्णुहरि फुयालले विद्यार्थी तथा शिक्षकलाई विपद्का बेला अपनाउनुपर्ने सावधानी, जोखिम न्यूनीकरणका उपाय तथा सुरक्षित व्यवहारबारे जानकारी गराएका थिए।

विद्यालयका बालबालिका तथा शिक्षक सबैलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा विपद्का घटना हुनुअघि अपनाउनुपर्ने सावधानीदेखि घटना भइहालेमा कसरी सुरक्षित हुने र उद्धार तथा सहयोगका लागि कसरी समन्वय गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो।

कार्यक्रममा विगु गाउँपालिका-२ का वडा अध्यक्ष दीपक ठकुरी, प्रहरी, शिक्षक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

हार्चे खोलाको घटनापछि सचेतना

विगु-२, पल्लो देउलाङकी ५९ वर्षीया पती तामाङलाई बिहीबार हार्चे खोलाले बगाएर बेपत्ता बनाएपछि शुक्रबार बिहानै जिल्ला प्रहरीको टोली घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयसँगको समन्वयमा हार्चे खोला तथा आसपासका क्षेत्रमा खोजी कार्य गरेको थियो।

सोही घटनापछि स्थानीयस्तरमा खोलानाला तथा अन्य प्राकृतिक विपद्बाट हुन सक्ने जोखिमबारे विद्यार्थी, शिक्षक तथा समुदायलाई सचेत गराउने उद्देश्यले विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो।

वडा अध्यक्ष दीपक ठकुरीका अनुसार पती तामाङ बिहीबार दिउँसो वडा कार्यालयबाट घर फर्कने क्रममा हार्चे खोलाले बगाएर बेपत्ता भएकी हुन्। उनको खोजी कार्य अझै जारी छ।

प्रहरी निरीक्षक विष्णुहरि फुयालले विपद्का बेला जोखिमपूर्ण स्थानमा नजान, सावधानी अपनाउन तथा सम्भावित घटनाबारे समयमै जानकारी गराउनुपर्नेमा जोड दिएका थिए।

कार्यक्रमले विद्यालयका विद्यार्थी तथा शिक्षकसँगै स्थानीय समुदायमा समेत विपद् जोखिम न्यूनीकरणसम्बन्धी व्यवहारिक सचेतना बढाउने अपेक्षा गरिएको छ।

298 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट