चरिकोटमा एक युवकद्वारा आत्मदाहको प्रयास
प्रहरी र स्थानीयको तत्परतामा उद्धार
649
Sharesदोलखाको सदरमुकाम चरिकोटस्थित सातदोबाटोमा मंगलबार साँझ एक युवकले आत्मदाहको प्रयास गरेका छन्। रामेछाप स्थायी घर भई चरिकोटको एक कफी हाउसमा कार्यरत विमली खत्रीले प्रहरी चौकी अगाडि पुगेर शरीरमा पेट्रोल छर्किएका हुन्।
स्कुटरमा आएका खत्रीले पेट्रोल छर्किएपछि आगो लगाउने प्रयास गरे पनि लाइटर नबलेका कारण ठूलो दुर्घटना हुनबाट जोगिएको थियो। घटनालगत्तै प्रहरी र स्थानीय बासिन्दाले उनको उद्धार गरेका थिए।
उद्धार गरिएका खत्रीको हाल दोलखास्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा उपचार भइरहेको छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ।
आत्मदाहको प्रयास गर्नुको कारण भने खुल्न सकेको छैन। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
649 Shares