जनप्रशासन क्याम्पसमा सांस्कृतिक कार्यक्रम, विद्यार्थीलाई पुरस्कार
सांस्कृतिक कार्यक्रम
84
SharesNews Summary
जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनद्वारा विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रम आयोजना गरिएको छ।
मन्त्री सरल सहयात्री पौडेलले विद्यार्थीको हकहित संरक्षण, नेतृत्व विकास र गुणस्तरीय शिक्षामा जोड दिनुभएको छ।
कार्यक्रममा सेवानिवृत्त कर्मचारीलाई सम्मान, उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण तथा BPA ब्याच २०७८ का विद्यार्थीलाई बिदाइ गरिएको छ।
कार्यक्रममार्फत मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्नुका साथै चाडपर्वको शुभकामना आदानप्रदान गरिएको छ।
काठमाडौं, २३ असोज। बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा काठमाडौंको बल्खुस्थित जनप्रशासन क्याम्पसमा विविध कार्यक्रम सम्पन्न भएको छ।
जनप्रशासन क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को आयोजनामा भएको कार्यक्रममा मौलिक सांस्कृतिक प्रस्तुति, नृत्य प्रतियोगिता, सेवानिवृत्त कर्मचारी सम्मान, पुरस्कार वितरण, BPA ब्याच २०७८ का विद्यार्थीको बिदाइ तथा चाडपर्वको शुभकामना आदानप्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विद्यार्थीको हकहित संरक्षण, नेतृत्व विकास र शैक्षिक वातावरण निर्माणमा स्वतन्त्र विद्यार्थी युनियनको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो। उहाँले विद्यार्थी संगठनहरू विद्यार्थीका शैक्षिक मुद्दा र अधिकारका विषयमा जिम्मेवार भएर क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो।
मन्त्री पौडेलले बदलिँदो समयअनुसार विश्वविद्यालयको शिक्षालाई गुणस्तरीय, व्यावहारिक र अनुसन्धानमुखी बनाउन आवश्यक रहेको बताउनुभयो। शिक्षा प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई ज्ञान, सीप, आलोचनात्मक सोच र सामाजिक उत्तरदायित्व विकास गर्ने माध्यम बन्नुपर्ने उहाँको भनाइ थियो।
नेपालको सार्वजनिक प्रशासनका लागि दक्ष जनशक्ति उत्पादन गर्न जनप्रशासन क्याम्पसले पुर्याउँदै आएको योगदानको चर्चा गर्दै उहाँले सार्वजनिक प्रशासनलाई प्रभावकारी, पारदर्शी, जवाफदेही र जनमुखी बनाउन सुशासनसम्बन्धी अध्ययन तथा अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो।
कार्यक्रममा मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सांस्कृतिक प्रस्तुति र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो। सो अवसरमा लामो समयसम्म सेवामा योगदान पुर्याएका सेवानिवृत्त कर्मचारीलाई सम्मान तथा विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रमले विद्यार्थी, शिक्षक, कर्मचारी तथा क्याम्पस परिवारबीच आपसी सद्भाव र सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
84 Shares