Herda Herdai logo २३ असोज २०८३, शुक्रवार

भर्खरै

एमाले विवाद

उम्मेदवार सिफारिस विवादमा बालकृष्ण शिवाकोटीलाई अध्यक्ष ओलीको साथ, ‘जिल्ला कमिटीले निर्णय होइन, नाम मात्रै पठाउने हो’

एकल नाम सिफारिसप्रति ओलीको असहमति, ‘जिल्ला कमिटीले निर्णय गर्न पाउँदैन’

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २३ पुष २०८२, बुधवार
उम्मेदवार सिफारिस विवादमा बालकृष्ण शिवाकोटीलाई अध्यक्ष ओलीको साथ, ‘जिल्ला कमिटीले निर्णय होइन, नाम मात्रै पठाउने हो’

News Summary


  • नेकपा एमाले अध्यक्ष केपी ओलीले दोलखामा उम्मेदवार सिफारिसको प्रक्रिया 'ठीक नभएको' भन्दै नेता बालकृष्ण शिवाकोटीको असहमतिलाई जायज ठहराए।
  • उनले जिल्ला कमिटीको भूमिका आकांक्षीहरूको नाम केन्द्रमा पठाउने मात्र रहेको र अन्तिम निर्णय पार्टीको सामूहिक छलफलबाट हुने स्पष्ट पारे।
  • ओलीले पार्टीभित्रको असन्तुष्टि मिडियामा लैजानु वा राजीनामा दिनु गलत भएको बताउँदै सबै नेताहरूलाई पार्टी काममा फर्कन निर्देशन दिए।

दोलखा — दोलखा — नेकपा एमाले दोलखामा उम्मेदवार सिफारिसको विषयलाई लिएर देखिएको विवादबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता बालकृष्ण शिवाकोटीको असहमति जायज भएको संकेत दिएका छन्। मध्यरातमा अध्यक्ष निवास गुण्डुमा भएको भेटमा ओलीले जिल्ला कमिटीको भूमिकाबारे स्पष्ट धारणा राख्दै दोलखामा अपनाइएको प्रक्रिया ‘ठीक नभएको’ बताएका हुन्।

अध्यक्ष ओलीले आसन्न निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्दा जिल्ला कमिटीसँग निर्णय गर्ने अधिकार नरहेको स्पष्ट पार्दै आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी केन्द्रमा पठाउनु मात्रै दायित्व भएको बताए। “एक जना भए एकल, दुई जना भए दुवै र बढी आकांक्षी भए एक महिलासहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो,” उनले भने, “यो काम १०–१५ मिनेटमै सकिन्थ्यो, तर दोलखामा त्यसो भएन।”

यसअघि एमाले दोलखाका नेता बालकृष्ण शिवाकोटीले सहमति बिना एकल नाम सिफारिस गरिएको भन्दै खुला असन्तुष्टि जनाएका थिए। उनले पार्टीको निर्णय प्रक्रिया मिचिएको र जिल्लाको भावना नसमेटिएको आरोप लगाएका थिए। अध्यक्ष ओलीको पछिल्लो भनाइले शिवाकोटीले उठाउँदै आएको विषयलाई थप बल पुगेको रूपमा हेरिएको छ।

अध्यक्ष ओलीले पार्टीभित्रको असन्तुष्टि मिडियामा लैजानु र पदबाट राजीनामा दिनुलाई अर्को गल्तीका रूपमा व्याख्या गरेका छन्। “चित्त नबुझेको कुरा पार्टीभित्रै एक पेजमा लेखेर ल्याए पुग्थ्यो,” उनले भने, “यो पार्टी तपाईंहरूकै हो, मन नपरे अर्को ठाउँ जाने थलो होइन।” ओलीले राजीनामा खारेज भइसकेको र सबै नेताहरूलाई पार्टी काममा फर्कन निर्देशन दिएको पनि बताएका छन्।

उम्मेदवार छनोटका क्रममा लेटरप्याडमा आएको सिफारिस मात्र निर्णायक नहुने उल्लेख गर्दै ओलीले आकांक्षी सबै नामहरूबारे छलफल हुने स्पष्ट पारे। पार्वत गुरुङ, बालकृष्ण शिवाकोटी, रचना खड्का, कालिका पाठक र श्याम बस्नेत लगायत नेताहरूको नाम चर्चामा रहेको उल्लेख गर्दै उनले अन्तिम निर्णय पार्टी कमिटीको सामूहिक छलफलबाट हुने बताए।

दोलखामा आकांक्षीबीच देखिएको तानातानप्रति व्यंग्य गर्दै ओलीले भने, “आकांक्षीबीच झगडा लागे टिकट मैले पाउँछु भन्ने सोच्नेहरू पनि छन्।”

अध्यक्ष ओलीको निर्देशनपछि दोलखाको उम्मेदवार सिफारिस विवाद पार्टीभित्रै समाधानतर्फ उन्मुख हुने संकेत देखिएको छ।

1129 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट