काठमाडौंमा गौरीशंकर अन्डर–१७ क्रिकेट प्रतियोगिता सुरु
१८ टोली सहभागी, विशाल खड्काद्वारा उद्घाटन
756
SharesNews Summary
- काठमाडौंमा गौरीशंकर क्रिकेटको आयोजनामा अन्डर–१७ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सुरु भएको छ।
- प्रतियोगितामा देशभरबाट १८ टोली सहभागी छन् र क्यानले उत्कृष्ट खेलाडीलाई भविष्यका लागि छनोट गर्नेछ।
काठमाडौं । काठमाडौंस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गौरीशंकर क्रिकेटको आयोजनामा अन्डर–१७ क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ।
शनिबार आयोजित उद्घाटन कार्यक्रममा नेकपा नेता विशाल खड्काले प्रतियोगिताको उद्घाटन गरेका थिए। कार्यक्रममा गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्की तथा जिल्ला खेलकुद विकास समिति दोलखाका अध्यक्ष आशिष तामाङ लगायतका जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
यस वर्ष प्रतियोगितामा देशभरबाट १८ वटा टोली सहभागी रहेका छन्। दोलखाबाट जिरीको सहिद आवासीय विद्यालय र गौरीशंकर गाउँपालिका–जुगुको निलकण्ठेश्वर माविका खेलाडीहरू मिलेर संयुक्त टिम बनाएर सहभागिता जनाएका छन्।
हाल प्रतियोगिता जारी रहेको छ। प्रतियोगितालाई क्यान (CAN) ले प्रत्यक्ष रूपमा अवलोकन तथा मूल्यांकन गरिरहेको छ। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई क्यानले आधिकारिक रेकर्डमा राख्दै भविष्यका लागि छनोट गर्ने जनाएको छ।
नेकपा नेता विशाल खड्का विकासप्रेमी तथा खेलप्रेमी नेताका रूपमा परिचित छन्। उनकै पहलमा जिरीको सहिद आवासीय विद्यालय र जुगुको निलकण्ठेश्वर माविमा क्रिकेट प्रशिक्षक राखेर जिल्लामा संस्थागत रूपमा क्रिकेट खेलको विकास सुरु गरिएको हो।
पछिल्लो समय नेपाली खेलाडीहरूको उत्कृष्ट प्रदर्शनका कारण क्रिकेटप्रति युवाहरूको आकर्षण र चासो उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ।
756 Shares