Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

चरिकोटमा अन्तर्राष्ट्रिय चेसको महाकुम्भ: ७ देशका ३५० खेलाडीबीच प्रतिस्पर्धा हुँदै ।

दोलखामा चेसको ‘महाकुम्भ’: रसियन ग्रान्डमास्टरदेखि १० वर्षे बालकसम्म भिड्ने

६ लाख ६७ हजार पुरस्कार राशि रहेको दोलखा अन्तर्राष्ट्रिय चेसको तयारी पूरा

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २६ वैशाख २०८३, शनिवार
दोलखामा चेसको ‘महाकुम्भ’: रसियन ग्रान्डमास्टरदेखि १० वर्षे बालकसम्म भिड्ने

News Summary


  • दोलखाको चरिकोटमा आगामी वैशाख २८ देखि जेठ २ सम्म छैटौं दोलखा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता आयोजना हुँदैछ।
  • यस प्रतियोगितामा नेपालसहित १० भन्दा बढी देशका करिब ३५० खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ, जसमा रुसका ग्रान्डमास्टर मुख्य आकर्षण हुन्।
  • कुल ६ लाख ६७ हजार ५०० रुपैयाँ पुरस्कार राशि रहेको यो खेलले दोलखाको पर्यटन र अर्थतन्त्रलाई बढावा दिने विश्वास गरिएको छ।

दोलखा । दोलखाको सदरमुकाम चरिकोट आगामी वैशाख अन्तिम सातादेखि विश्वका बुद्धिचाल (चेस) खेलाडीहरूको संगम स्थल बन्ने भएको छ। 'दोलखा चेस होम नेपाल' को आयोजनामा आगामी वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म ‘छैटौं दोलखा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता’ आयोजना हुने भएको हो।

​बुधबार चरिकोटमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिँदै यसलाई दोलखाको खेलकुद इतिहासमै एउटा ठूलो गौरवको विषय भएको बताएको छ।

​प्रतियोगितामा सहभागी हुन हालसम्म नेपालसहित भारत, बंगलादेश, श्रीलंका, अमेरिका, फ्रान्स र रसियाका १५० खेलाडीले नाम दर्ता गराइसकेका छन्। आयोजकका अनुसार चीन, फिलिपिन्स र मंगोलियाका खेलाडीहरूको दर्ता प्रक्रिया समेत जारी छ।

​यसपटकको मुख्य आकर्षण रसियाका चर्चित ग्रान्डमास्टर (GM) किरियकोभ पेटर रहनेछन्। ८५ वर्षका पाका खेलाडीदेखि १० वर्षका बाल प्रतिभासम्म एउटै मञ्चमा भिड्नु यो प्रतियोगिताको अर्को रोचक पक्ष हुनेछ। करिब ३५० खेलाडी सहभागी हुने अपेक्षा गरिएको यस कार्यक्रमले चरिकोटको सिम्पानी हलमा खेलको रौनक थप्नेछ।

प्रतियोगितामा पहिलो पटक 'क्लासिकल' र 'र्‍यापिड' गरी दुई फरक विधा समावेश गरिएको छ, जसले प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउनेछ। कुल ६ लाख ६७ हजार ५०० रुपैयाँ पुरस्कार राशि रहेको यस खेलमा १०८ जना खेलाडीले नगद उपहार प्राप्त गर्नेछन्। जसमध्ये क्लासिकल विधातर्फको उपाधि जित्नेले १ लाख रुपैयाँ नगद सहित ट्रफी र मेडल हात पार्नेछन् भने र्‍यापिड विधाको विजेतालाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ।

पछिल्लो समय सुस्ताउँदै गएको दोलखाको बजार र पर्यटन क्षेत्रलाई यो प्रतियोगिताले नयाँ ऊर्जा दिने विश्वास गरिएको छ। आयोजक समितिका अध्यक्ष गोविन्दमान श्रेष्ठ भन्छन्, "यो प्रतियोगिता केवल खेल मात्र होइन, यसले दोलखालाई विश्व मानचित्रमा 'चेसको हब' का रूपमा स्थापित गर्नेछ र खेलकुद पर्यटनमार्फत यहाँको अर्थतन्त्रलाई चलायमान बनाउनेछ।"

509 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट