बुद्ध जयन्ती र मजदुर दिवसमा पनि चरिकोटका निजी विद्यालय खुल्ला, सामाजिक संवेदनशीलता हराएको भन्दै आलोचना
१२ मध्ये ९ निजी विद्यालयद्वारा सार्वजनिक बिदाको उल्लंघन; एपेक्स, राइजिङ स्टार र मोडेर्न नेपालले भने दिए बिदा।
AI
589
SharesNews Summary
- दोलखाको चरिकोटका अधिकांश निजी विद्यालयहरूले बुद्ध जयन्ती, मजदुर दिवसलगायतका सार्वजनिक बिदाका दिन पनि पठनपाठन सञ्चालन गरे।
- यस कार्यलाई स्थानीय समुदाय र अभिभावकले 'सामाजिक संवेदनशीलतामाथिको प्रहार' भन्दै गम्भीर आपत्ति जनाएका छन्।
- विद्यालयहरूको यो कदमले शिक्षाको व्यावसायिक पाटोमा मात्र ध्यान दिई सामाजिक र सांस्कृतिक मूल्यमान्यताको अवहेलना गरेको प्रश्न उठाएको छ।
दोलखा। बुद्ध जयन्ती, मजदुर दिवस र उधौली–उभौली जस्ता महत्वपूर्ण राष्ट्रिय तथा सांस्कृतिक पर्वका दिन पनि दोलखाको चरिकोटका अधिकांश निजी विद्यालयहरू सञ्चालनमा आएका छन्। सदरमुकाम चरिकोटमा रहेका १२ वटा निजी विद्यालयमध्ये एपेक्स स्कुल, राइजिङ स्टार र मोडेर्न नेपाल बाहेकका अन्य सबै विद्यालयले बिदा नगरी पठनपाठन सुचारु राखेका हुन्। देशभर सार्वजनिक बिदा भइरहेका बेला विद्यालय सञ्चालन गरिएको भन्दै स्थानीय समुदाय र अभिभावकहरूले यसलाई ‘सामाजिक संवेदनशीलतामाथिको प्रहार’ भन्दै आपत्ति जनाएका छन्।
शिक्षा भनेको केवल किताबी ज्ञान मात्र नभई समाजको संस्कार, संस्कृति र श्रमको सम्मान सिकाउने माध्यम पनि हो। तर, महत्वपूर्ण चाडपर्व र दिवसहरूमा समेत विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित गराउनाले शैक्षिक संस्थाहरूले सामाजिक जिम्मेवारी भन्दा पनि व्यावसायिक नाफालाई मात्र केन्द्रमा राखेको त होइन भन्ने प्रश्न उठेको छ। संस्कार र संस्कृति सिकाउने केन्द्रका रूपमा रहेका विद्यालयहरूले नै यस्ता विशेष अवसरहरूको अपमान गर्दा विद्यार्थीहरूमा आफ्नो परम्पराप्रति कस्तो प्रभाव पर्ला भन्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।
चरिकोटका केही विद्यालयहरूले बिदा दिएर सामाजिक मूल्य र मान्यताको सम्मान गरे पनि, अन्य विद्यालयहरूको यो कदमले स्थानीय प्रशासन र सम्बन्धित निकायको नियमनमाथि समेत प्रश्न खडा गरिदिएको छ। शिक्षा क्षेत्रमा गुणस्तर जत्तिकै सामाजिक र सांस्कृतिक सम्मान पनि आवश्यक पर्ने भन्दै यस्ता गतिविधिप्रति सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण हुनुपर्ने देखिएको छ।
589 Shares