रुखको जराबाट कला जन्माउँदै दोलखाका सुजन, तयार पारे ६० कलाकृति
1181
Sharesदोलखा । सामान्यतया रुखको जरा देख्दा धेरैको ध्यान त्यसको आकारमा जाँदैन। तर दोलखाको भीमेश्वर नगरपालिका–७ काउलेका ४० वर्षीय सुजन खड्का भने त्यही जराभित्र आकृति खोज्छन्। जरा हेर्दै जाँदा देखिएको आकृतिलाई कलाको स्वरूप दिँदै उनले पछिल्लो पाँच वर्षमा ६० वटा ‘रुट आर्ट’ तयार गरिसकेका छन्।
खड्का ११ वर्षसम्म प्रभु मनी ट्रान्सफरमा काम गरेपछि व्यवसायमा लागे। त्यसपछि फुर्सदको समयमा रुखका जरालाई कलाको स्वरूप दिन थालेका हुन्।
उनका अनुसार नयाँ सडक खन्दा वा सडक आसपासबाट भेटिने जरालाई उनी संकलन गर्छन्। जरा भेट्नेबित्तिकै त्यसमा देखिएको आकृति भने स्पष्ट हुँदैन।

‘जरा देखेपछि त्यसमा रेखा देखिन्छ। त्यसलाई एक–दुई महिना हेर्दै गएपछि विस्तारै आकृति देखिन थाल्छ,’ खड्का भन्छन्, ‘कहिलेकाहीँ सर्पको आकार देखिन्छ, कहिले मान्छे वा जनावरको। त्यसपछि त्यही आकारलाई आधार बनाएर काम गर्दै जाँदा कलाकृति बन्छ।’

एउटै जरामा पनि फरक–फरक आकृति देखिन सक्ने भएकाले आफूले बनाउने प्रत्येक कलाकृति फरक हुने उनको भनाइ छ। कुनै जरामा आकृति एकै दिनमा देखिन सक्छ भने कुनैमा महिनौंसम्म हेर्नुपर्ने हुन्छ।
‘नक्सा देखिन एक–दुई महिना लाग्न सक्छ। कुनै जरा हेर्दा एकै दिनमा आकृति देखिन्छ, कुनैमा महिनौं लाग्छ,’ उनी भन्छन्, ‘ठ्याक्कै यति समय लाग्छ भन्ने हुँदैन।’
खड्काका अनुसार रुखका जरामा धेरै कथा लुकेका हुन्छन्। त्यही कथा र प्राकृतिक आकारलाई आधार बनाएर कलाकृति निर्माण गर्नु नै ‘रुट आर्ट’को विशेषता हो।
‘जरा जहिले पनि फरक हुन्छ। त्यसैले त्यसबाट बन्ने आर्ट पनि फरक हुन्छ,’ उनी भन्छन्।
उनले सुरुमा आफ्ना कलाकृति दोलखाको होमस्टेमा राख्ने गरेका थिए। फुर्सदको समयमा त्यहीँ बसेर जरा मिलाउने र नयाँ आकृति बनाउने गर्थे। अहिले भने उनले तयार गरेका ६० वटा रुट आर्टमध्येका कलाकृति ललितपुरको संखमुलमा रहेको ‘चियाबहादुर’मा राखेका छन्।

खड्का रुट आर्टलाई नेपालमा निकै कम मानिसले गर्ने कला भएको बताउँछन्। प्राकृतिक रूपमा भेटिएको जराभित्रको आकृति पहिचान गरी त्यसलाई कलामा रूपान्तरण गर्न समय, धैर्य र कल्पनाशक्ति आवश्यक पर्ने उनको भनाइ छ।
उनका लागि यो केवल जरा काटेर आकृति बनाउने काम होइन, पहिले जरामा आकृति खोज्ने र त्यसपछि त्यही आकृतिबाट कथा निर्माण गर्ने कला हो।





