दोलखामा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न, यस वर्ष जोशी परिवारको पालो
दोलखामा गाठामा पर्व सम्पन्न
397
Sharesदोलखा । दोलखामा नेवार समुदायको महत्वपूर्ण पर्व घण्टाकर्ण अर्थात् ‘गाठामा’ पर्व विधिपूर्वक सम्पन्न भएको छ।
श्रावण कृष्णपक्ष चतुर्दशीका दिन मनाइने यो पर्व दोलखामा मनाइने जात्रा तथा पर्वमध्ये सुरुवाती पर्वका रूपमा लिइन्छ।
यस वर्ष घण्टाकर्ण जात्रा सञ्चालन गर्ने पालो ढोकुलुङा टोलका जोशी परिवारको थियो। परम्पराअनुसार तलेजु भवानी मन्दिरमा पूजाआजा गरेपछि घण्टाकर्णको प्रतिमालाई बाजागाजासहित दोलखा बजार घुमाइएको थियो।
त्यसपछि प्रतिमालाई बजारबाट बाहिर छेरप्वाले भन्ने स्थानमा लगेर जलाइएको हो।
घण्टाकर्णको प्रतिमा गाजाको बोटलगायत स्थानीय सामग्री प्रयोग गरेर बनाइन्छ। नाङ्लोमा राक्षसको अनुहार तयार गरिन्छ। पूजाआजा सकेपछि प्रतिमाको घाँटीमा खुकुरीले तीनपटक काट्ने र त्यसपछि तानेर बजारबाहिर लैजाने परम्परा छ।
घण्टाकर्ण पर्वका अवसरमा दोलखामा विश्वकर्माले घर–घरमा फलामको करुवा र औँठी ल्याउने चलन पनि छ। करुवा घरको मूलढोकामा ठोक्ने र औँठी लगाइदिने गरिन्छ।
घण्टाकर्ण पर्व धार्मिक परम्परासँगै दोलखाको मौलिक नेवारी संस्कृति र गुठी परम्परासँग जोडिएको पर्व हो। स्थानीयवासी र गुठियारको सहयोगमा यो परम्परा वर्षौंदेखि निरन्तर चल्दै आएको छ।
यसै परम्पराको निरन्तरतास्वरूप यस वर्ष पनि जोशी परिवारको पालोमा घण्टाकर्ण (गाठामा) पर्व सम्पन्न भएको हो।
397 Shares