Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

स्वास्थ्य / जनचेतना

विश्व क्षयरोग दिवसमा दोलखामा रक्तदान र जनचेतनामूलक अभिमुखीकरण

दोलखा बजारमा २२ जनाले गरे रक्तदान, ६२ जनाको सहभागिता

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० चैत २०८२, मङ्गलवार
विश्व क्षयरोग दिवसमा दोलखामा रक्तदान र जनचेतनामूलक अभिमुखीकरण

News Summary


  • दोलखामा विश्व क्षयरोग दिवसका अवसरमा रक्तदान तथा क्षयरोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भयो।
  • जनस्वास्थ्य कार्यालय र नेपाल क्षयरोग निवारण संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा २२ जनाले स्वेच्छिक रक्तदान गरे।
  • कार्यक्रममा सहभागीहरूलाई क्षयरोगको रोकथाम, समयमै परीक्षण, नियमित उपचार र जनचेतना अभिवृद्धिबारे जानकारी गराइएको थियो।

चरिकोट, दोलखा । विश्व क्षयरोग दिवसको अवसरमा दोलखामा रक्तदान तथा क्षयरोग सम्बन्धी जनचेतनामूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

भीमेश्वर नगरपालिका–२, दोलखा बजारमा आयोजित उक्त कार्यक्रम जनस्वास्थ्य कार्यालय दोलखा र नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाको संयुक्त आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटी दोलखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।

सन् १८८२ मा वैज्ञानिक डा. रोबर्ट कोचले क्षयरोगको जीवाणु पत्ता लगाएको दिनको सम्झनामा हरेक वर्ष मार्च २४ मा विश्वभर यो दिवस मनाइन्छ। यस वर्ष “हो! हामी क्षयरोग अन्त्य गर्छौं। राष्ट्रिय अभियान, हाम्रो योगदान (Yes! We can End TB: Led by Country, Powered by Us)” भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक, सरोकारवाला निकायका प्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कुल ६२ जना सहभागीमध्ये २२ जनाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

उक्त अवसरमा सहभागीहरूलाई क्षयरोगको रोकथाम, समयमै परीक्षण, नियमित उपचार, औषधि सेवनको निरन्तरता तथा जनचेतना अभिवृद्धि सम्बन्धी अभिमुखीकरण प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल क्षयरोग निवारण संस्था दोलखाका अध्यक्ष तीर्थबहादुर जोशीले गरेका थिए। कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले क्षयरोग समयमै पहिचान गरी उपचार सुरु गरेमा पूर्ण रूपमा निको हुने रोग भएको उल्लेख गर्दै यस्ता जनचेतनामूलक कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

452 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट