शैलुङमा विना अध्ययन संरचना बनाइएको भन्दै नेकपाको आपत्ति: भन्छ– 'विकासको नाममा विनाश स्वीकार्य छैन'
वातावरणीय प्रभाव मूल्यांकन (EIA) विना नै जमिन खन्ने र संरचना बनाउने कार्य नरोकिए भौतिक हस्तक्षेप गर्ने चेतावनी
722
SharesNews Summary
* EIA र स्थानीय सहमतिको अभावमा भइरहेका सबै भौतिक संरचना निर्माण तत्काल रोक्न माग।
* जथाभावी जमिन खन्दा शैलुङको प्राकृतिक, धार्मिक र सांस्कृतिक मौलिकता संकटमा परेको ठहर।
* आग्रह बेवास्ता गरिए नेकपा आफैँ मैदानमा उत्रिएर निर्माण कार्य ठप्प पार्ने चेतावनी।
दोलखा । दोलखा र रामेछापको संगमस्थलमा रहेको प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा विना अध्ययन भौतिक संरचना निर्माण भइरहेको भन्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) शैलुङ गाउँ कमिटीले गम्भीर आपत्ति जनाएको छ।
शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले वातावरणीय प्रभाव मूल्यांकन (EIA) र स्थानीय समुदायको सहमति विना नै शैलुङको प्राकृतिक स्वरूप बिगार्ने गरी भइरहेका सबै गतिविधिहरू तत्काल रोक्न माग गरेको हो। केही व्यक्ति तथा संस्थाहरूले जथाभावी जमिन खन्ने र संरचना निर्माण गर्ने कार्यले शैलुङको सयौँ वर्ष पुरानो धार्मिक आस्था, सांस्कृतिक पहिचान र जैविक विविधतामा प्रत्यक्ष आघात पुगेको विज्ञप्तिमा उल्लेख छ।
नेकपाले विकासको नाममा हुने विनाश स्वीकार्य नहुने स्पष्ट पार्दै सम्बन्धित निकाय, स्थानीय तह र निर्माण कम्पनीहरूलाई यी गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ। यदि यो आग्रहलाई बेवास्ता गरी निर्माण कार्य नरोकिएमा पार्टी आफैँ अग्रसर भई भौतिक रूपमा काम रोक्न र आवश्यक कदम चाल्न बाध्य हुने चेतावनी समेत दिइएको छ।
विज्ञप्ति मार्फत शैलुङको मौलिकता र प्राकृतिक सन्तुलन जोगाउनका लागि सबै सरोकारवालाहरूलाई एकजुट हुन आह्वान गरिएको छ।
722 Shares