शैलुङको प्राकृतिक सौन्दर्य र जैविक विविधता जोगाउन एमालेको आग्रह
नेपाल टेलिकमका संरचना र अव्यवस्थित निर्माण कार्यले वातावरणीय संकट निम्त्याउने भन्दै तत्काल रोक्न माग
625
SharesNews Summary
* शैलुङको प्राकृतिक र जैविक विविधता बिगार्ने गरी भइरहेका निर्माण कार्य तत्काल रोक्न माग।
* अवैज्ञानिक संरचनाले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने चेतावनी।
* नेपाल टेलिकमले बनाउन लागेको संरचनाको वैकल्पिक व्यवस्था गर्न अनुरोध।
* प्राकृतिक स्वरूप र स्थानीय हितलाई केन्द्रमा राखेर मात्र विकासका काम अघि बढाउन आग्रह।
दोलखा, ११ वैशाख ।
दोलखा जिल्लाको गौरव तथा प्रमुख पर्यटकीय र धार्मिक स्थल शैलुङ क्षेत्रको मौलिक सौन्दर्य र पर्यावरणीय सन्तुलनमा गम्भीर असर पर्ने गरी भइरहेका निर्माण गतिविधिप्रति नेकपा (एमाले) शैलुङ गाउँपालिका कमिटीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
शैलुङ केवल एक भू-भाग मात्र नभई प्राकृतिक र जैविक विविधताको अनुपम धरोहर भएकाले यसको प्राकृतिक स्वरूप बिगार्ने गरी गरिने कुनै पनि किसिमका अवैज्ञानिक, अव्यवस्थित र अनियन्त्रित निर्माण कार्यहरूले दीर्घकालीन वातावरणीय संकट निम्त्याउने भन्दै एमालेले त्यस्ता कार्यप्रति स्पष्ट असहमति व्यक्त गरेको छ।
पार्टी अध्यक्ष भरत प्रसाद ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा सरकारी वा निजी जुनसुकै निकायबाट भए पनि शैलुङ क्षेत्रको जमिन दुरुपयोग हुने गरी सञ्चालन भइरहेका निर्माण कार्यहरू तत्काल रोक्न माग गरिएको छ।
विशेष गरी नेपाल टेलिकमले निर्माण गर्न लागेको संरचनाको वैकल्पिक व्यवस्था गर्न आग्रह गर्दै एमालेले प्राकृतिक संरक्षण, दिगो विकास र स्थानीय समुदायको हितलाई केन्द्रमा राखेर मात्र योजनाहरू अघि बढाउनुपर्नेमा जोड दिएको छ।
सम्बन्धित निकायहरूलाई यस विषयमा गम्भीर बन्न र शैलुङको संरक्षणका लागि ठोस कदम चाल्न आग्रह गर्दै एमालेले यस संरक्षण अभियानमा ऐक्यबद्धता जनाउन सम्पूर्ण स्थानीय बासिन्दा र सरोकारवालाहरूलाई अपिल समेत गरेको छ।
625 Shares