Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

मेलुङकी सम्झनाको कृषि यात्रा : डल्ले खुर्सानीले दियो लाखौँको आम्दानी

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २१ असार २०८३, आइतवार
मेलुङकी सम्झनाको कृषि यात्रा : डल्ले खुर्सानीले दियो लाखौँको आम्दानी

News Summary


मेलुङ-२ बाँसबोडेकी सम्झना खड्काले डल्ले खुर्सानी र त्यसका बिरुवा बिक्रीबाट वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन्।

१४ रोपनी क्षेत्रफलमा फैलिएको उनको कृषि व्यवसायबाट वार्षिक १० लाखभन्दा बढी कारोबार हुने गरेको छ भने उत्पादन विभिन्न जिल्ला र पालिकामा बिक्री हुने गरेको छ।

हेफर परियोजना र मेलुङ गाउँपालिकाको सहयोगमा सुरु भएको व्यवसायले स्थानीय युवालाई रोजगारी दिनुका साथै अन्य कृषकका लागि प्रेरणाको स्रोत बनेको छ।

दोलखा । वैदेशिक रोजगारी र शहरमुखी बसाइँसराइ बढिरहेका बेला मेलुङ गाउँपालिका-२ बाँसबोडेकी सम्झना खड्काले भने गाउँमै बसेर कृषि उद्यमबाट उदाहरणीय सफलता हासिल गरेकी छन्। डल्ले खुर्सानी र त्यसका बिरुवा उत्पादन तथा बिक्री गरेर उनले वार्षिक सात लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएकी छन्।

केही वर्षअघि सामान्य रूपमा सुरु गरिएको खेती अहिले उनको मुख्य व्यवसाय बनेको छ। गत वर्ष मात्रै डल्ले खुर्सानी बिक्रीबाट करिब ६ लाख रुपैयाँ आम्दानी भएको थियो भने बिरुवा बिक्रीबाट थप डेढ लाख रुपैयाँ आम्दानी भएको उनले जानकारी दिइन्। यस वर्ष उत्पादन केही घटे पनि बिरुवाको माग बढेकाले आम्दानी सन्तोषजनक रहेको उनको भनाइ छ।

मेलुङमा हेफर परियोजना सञ्चालनमा आएपछि त्यसमा सहभागी बनेर उनले व्यावसायिक खेतीतर्फ पाइला चालेकी हुन्। इलामबाट ल्याइएका डल्ले खुर्सानीका बिरुवाबाट सुरु भएको उनको प्रयास अहिले अन्य कृषकका लागि समेत प्रेरणाको विषय बनेको छ।

“गाउँमै मेहनत गर्न सके राम्रो आम्दानी गर्न सकिन्छ,” उनी भन्छिन्, “कृषिले परिवारलाई आत्मनिर्भर बनाएको छ र केही स्थानीय युवाले पनि काम गर्ने अवसर पाएका छन्।”

डल्ले खुर्सानीसँगै उनले एभोकाडो, कफी, जापानिज कटुस, तेजपत्ता र चाँपका बिरुवा उत्पादन गर्दै आएकी छन्। करिब १४ रोपनी क्षेत्रफलमा फैलिएको उनको नर्सरी तथा खेतीबाट वार्षिक १० लाख रुपैयाँभन्दा बढी कारोबार हुने गरेको छ।

उनले उत्पादन गरेका बिरुवा र कृषि सामग्री दोलखाका विभिन्न पालिकाका साथै धादिङ, सिन्धुपाल्चोक र रामेछापका कृषक तथा समूहले समेत खरिद गर्ने गरेका छन्।

मेलुङ गाउँपालिकाले प्राविधिक परामर्श, बिरुवा, मर्चिङ प्लास्टिकलगायतका सामग्री उपलब्ध गराउँदै आएको छ। यस वर्ष सेतीदेवी महिला समूहलाई खुर्सानी सुकाउने मेसिन प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकरले स्थानीय स्तरमै रोजगारी र आम्दानी सिर्जना गर्ने कृषकलाई प्रोत्साहन गर्न पालिकाले निरन्तर सहयोग गरिरहेको बताए। उनका अनुसार सफल कृषकका अनुभवलाई अन्य युवासम्म पुर्‍याएर व्यावसायिक कृषिमा आकर्षण बढाउने प्रयास भइरहेको छ।

1112 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट