भीमेश्वरमा ‘मोर्डन नेपाल स्कुल एक्स्पो’: पढाइसँगै प्रतिभा र सिर्जनाको उत्सव
विद्यार्थीको बहुमुखी क्षमता उजागर गर्दै विज्ञान, संस्कृति र उपलब्धिको संगम
1041
SharesNews Summary
- दोलखाको मोर्डन नेपाल स्कुलले आफ्नो वार्षिक उत्सवमा ‘मोर्डन नेपाल स्कुल एक्स्पो–२०८२’ भव्य रूपमा सम्पन्न गर्यो।
- एक्स्पोमा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, सिर्जनात्मक सामग्री र सांस्कृतिक कार्यक्रममार्फत आफ्नो बहुआयामिक प्रतिभा प्रदर्शन गरे।
- उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गरिनुका साथै विद्यालयले विगत एक वर्षमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विभिन्न शैक्षिक तथा खेलकुद प्रतियोगितामा हासिल गरेको सफलताहरू प्रस्तुत गरियो।
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका मा सञ्चालित मोर्डन नेपाल स्कुल ले आफ्नो वार्षिक उत्सवको अवसर पारेर ‘मोर्डन नेपाल स्कुल एक्स्पो–२०८२’ भव्य रूपमा सम्पन्न गरेको छ।
शुक्रबार आयोजित विशेष समारोहमा नगर प्रमुख ईश्वर नारायण मानन्धर को प्रमुख आतिथ्यमा विद्यार्थीहरूको बहुआयामिक प्रतिभा प्रदर्शनसहित एक्स्पो सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै नगर प्रमुख मानन्धरले विद्यालयले विद्यार्थीहरूको सर्वांगीण विकासमा खेलेको भूमिकाको प्रशंसा गरे। उनले शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलाप र सिर्जनात्मक क्षेत्रमा पनि विद्यालयले नगरको पहिचान राष्ट्रिय स्तरसम्म पुर्याएको उल्लेख गरे।
प्रदर्शनी र सांस्कृतिक रौनक
एक्स्पोको मुख्य आकर्षण विद्यार्थीहरूले तयार पारेका विज्ञान प्रदर्शनी, सिर्जनात्मक सामग्री तथा कलात्मक प्रस्तुति रहे। कक्षामा सिकेका सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्दै तयार पारिएका वैज्ञानिक मोडलहरूले अभिभावक र अतिथिहरूको ध्यान आकर्षित गरे।
त्यससँगै विद्यार्थीहरूले लोक तथा आधुनिक नृत्य र गीत प्रस्तुत गर्दै कार्यक्रमलाई उत्साहपूर्ण बनाएका थिए।
उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मान
कार्यक्रमकै अवसरमा शैक्षिक सत्र २०८१ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा पदक प्रदान गरिएको थियो। कक्षागत रूपमा उत्कृष्ट हुने विद्यार्थीहरूका अतिरिक्त ‘स्टुडेन्ट अफ द इयर’, ‘मोस्ट डिसिप्लिन्ड’, ‘बेस्ट ह्यान्डराइटिङ’ र ‘मोस्ट रेगुलर स्टुडेन्ट’ जस्ता विधामा पनि विशेष सम्मान गरिएको थियो।
साथै, विद्यार्थीको भविष्य निर्माणमा योगदान पुर्याउने शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो।
प्रतियोगितामा उल्लेखनीय सफलता
विद्यालयले विगत एक वर्षमा स्थानीयदेखि राष्ट्रिय स्तरसम्म विभिन्न क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। जिल्ला स्तरीय वक्तृत्वकला, हाजिरीजवाफ तथा विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गरेको विद्यालय खेलकुद क्षेत्रमा पनि अब्बल देखिएको छ।
विशेषगरी, राष्ट्रिय स्तरको वक्तृत्वकला प्रतियोगितामा विद्यालयकी छात्रा कृत्तिका खड्काले नगद पुरस्कारसहित प्रथम स्थान हासिल गर्दै नगरको गौरव बढाएकी थिइन्। त्यस्तै, राष्ट्रपति कप अन्तर्गत छात्र भलिबल र दौड प्रतियोगितामा समेत विद्यालयले उत्कृष्ट प्रदर्शन गरेको जानकारी दिइयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै नयाँ उचाइ हासिल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।।
1041 Shares