जन्मदिनमा केक काट्ने खर्चले आश्रमलाई सहयोग: जुरिच मोन्टेस्वरीको लोभलाग्दो अभियान
विद्यार्थीको जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै जुरिच मोन्टेस्वरीले ‘सेवा संस्कार’को उदाहरण प्रस्तुत
546
SharesNews Summary
- भक्तपुरको जुरिच मोन्टेस्वरीले जन्मदिनलाई केक नकाटी सामाजिक सेवासँग जोड्ने फरक परम्परा थालेको छ।
- यस वर्ष विद्यालयले १५ हजार बराबरको खाद्यान्न तथा लत्ताकपडा 'न्यू नेपाल सोसाईटी सेन्टर' लाई सहयोग गरेको छ।
- यसको उद्देश्य विद्यार्थीहरूमा सेवाको भावना विकास गराउनु र फजुल खर्चलाई सामाजिक उत्तरदायित्वमा बदल्नु हो।
भक्तपुर । सामान्यतया जन्मदिन भन्नेबित्तिकै केक काट्ने, भोज गर्ने र तामझाम गर्ने चलन बढ्दो छ। तर भक्तपुरस्थित जुरिच मोन्टेस्वरीले यो परम्परालाई फरक ढंगले प्रस्तुत गर्दै सामाजिक सेवासँग जोड्ने उदाहरण पेश गरेको छ।
विगत केही वर्षदेखि विद्यालयले विद्यार्थीको जन्मदिनमा केक नकाट्ने नीति अपनाउँदै आएको छ। सोही खर्चलाई बचत गरी सामाजिक कार्यमा प्रयोग गर्ने अभियान अन्तर्गत यस वर्ष सूर्यविनायक नगरपालिका–सिरुटारस्थित 'न्यू नेपाल सोसाईटी सेन्टर' लाई सहयोग गरिएको हो।
विद्यालय, विद्यार्थी र अभिभावकको संयुक्त पहलमा संकलित करिब १५ हजार रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा आश्रमलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक तथा प्रिन्सिपल विजिता केसीको सहभागितामा सामग्री हस्तान्तरण गरिएको थियो।
प्रिन्सिपल केसीले भनिन्, “विद्यार्थीहरूमा सानैदेखि सेवा र समर्पणको भावना विकास होस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। फजुल खर्चभन्दा कसैको जीवनमा खुशी ल्याउनु धेरै अर्थपूर्ण हुन्छ।”
विद्यालयले जन्मदिनलाई व्यक्तिगत उत्सव मात्र नभई सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यसहित यो अभियानलाई निरन्तरता दिँदै आएको छ। अभिभावकहरूको समेत सकारात्मक साथले कार्यक्रम प्रभावकारी बन्दै गएको विद्यालयले जनाएको छ।
546 Shares