Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

बिगुको शैक्षिक छलाङ: १८% बाट ७६.४% पुग्यो नतिजा

बिगुको 'आवासीय कक्षा'ले ल्यायो नतिजामा सुधार: १८ बाट ७६ प्रतिशत पुग्यो उत्तीर्ण दर

अघिल्लो वर्ष १८ प्रतिशत मात्र नतिजा आएपछि गाउँपालिकाले चलाएको 'आवासीय अतिरिक्त कक्षा' प्रभावकारी, तीन विद्यालयको नतिजा शतप्रतिशत।

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क २७ चैत २०८२, शुक्रवार
बिगुको 'आवासीय कक्षा'ले ल्यायो नतिजामा सुधार: १८ बाट ७६ प्रतिशत पुग्यो उत्तीर्ण दर

News Summary


  • बिगु गाउँपालिकाले गत वर्षको १८% नतिजालाई सुधार्दै यस वर्ष ७६.४% पुर्‍याएको छ ।
  • अघिल्लो वर्ष नतिजा बिग्रेपछि पालिकाले चलाएको आवाससहितको अतिरिक्त कक्षाका कारण यो सफलता मिलेको हो ।
  • २५४ परीक्षार्थीमध्ये १९४ उत्तीर्ण भएका छन् भने ३ वटा विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् ।
  • अनुत्तीर्ण ६० विद्यार्थीका लागि आगामी वैशाख १३ गते पुरक परीक्षा सञ्चालन गरिनेछ ।

दोलखा । गत वर्षको शैक्षिक इतिहासमै कमजोर नतिजा आएपछि 'गम्भीर' बनेको दोलखाको बिगु गाउँपालिकाले यस वर्ष आधारभूत तह (कक्षा ८) को परीक्षामा चामत्कारिक सुधार गरेको छ । अघिल्लो शैक्षिक सत्र २०८१ मा जम्मा १८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएपछि आलोचना खेपेको पालिकाले यस वर्ष ७६.४ प्रतिशत नतिजा निकाल्दै शिक्षामा नयाँ मानक स्थापित गरेको हो ।

सुधारको कडी: आवासीय अतिरिक्त कक्षा

गत वर्षको नतिजा बिग्रिएपछि गाउँपालिका अध्यक्ष सन्जिव ओलीको सक्रियतामा पालिकाले विशेष योजना अघि सारेको थियो । विद्यार्थीको जग कमजोर भएको निष्कर्ष निकाल्दै पालिकाले यस वर्ष परीक्षार्थीहरूका लागि आवाससहितको अतिरिक्त (Extra) कक्षा सञ्चालन गरेको थियो । घरको वातावरण र अन्य घरायसी कामले पढाइमा बाधा नपुगोस् भन्नका लागि विद्यार्थीलाई विद्यालयमै राखेर पढाउने व्यवस्था मिलाइएको थियो ।

​"अघिल्लो वर्षको नतिजाले हामीलाई ठूलो पाठ सिकाएको थियो," पालिका स्रोत भन्छ, "त्यसैले यस वर्ष विद्यार्थीलाई विद्यालयमै आवासको सुविधा र अतिरिक्त शिक्षकहरूका माध्यमबाट विशेष कक्षा सञ्चालन गरियो, जसको सुखद परिणाम आज देखिएको छ ।"

तीन विद्यालयको 'क्लीन स्वीप'

शुक्रबार सार्वजनिक नतिजा अनुसार पालिकाभित्रका १२ विद्यालयमध्ये तीनवटाले शतप्रतिशत सफलता हात पारेका छन् । बिगु–२ को देवलिङ्गेश्वर मावि, बिगु–५ को हिमखण्ड भुबनेश्वरी आवि र बिगु–८ को कालिञ्चोक माविबाट सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।

​पालिकाभरिबाट कूल २५४ परीक्षार्थी सामेल भएकोमा १९४ जनाले सफलता प्राप्त गरेका छन् । योसँगै समग्र उत्तीर्ण प्रतिशत ७६.४ पुगेको छ । यद्यपि, आलम्पुको थम्पु मावि (१९.२%) र चिलङ्खाको हिमालय मावि (३७.५%) मा भने अझै सुधारको खाँचो देखिएको छ ।

वैशाख १३ मा ग्रेड वृद्धि परीक्षा

नतिजामा सफल हुन नसकेका ६० जना विद्यार्थीका लागि गाउँपालिकाले पुनः अवसर दिने भएको छ । आगामी २०८३ वैशाख १३ गतेदेखि गाउँपालिकाको सभाहलमा ग्रेड वृद्धि (पुरक) परीक्षा सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत गणेश श्रेष्ठले जानकारी दिए ।

​विद्यार्थीले आफ्नो व्यक्तिगत नतिजा सम्बन्धित विद्यालयको IEMIS बाट लेजर प्रिन्ट गरी हेर्न सक्ने व्यवस्था मिलाइएको अधिकृत श्रेष्ठले बताए । पालिकाले अपनाएको यो 'आवासीय मोडल' को सफलतापछि अब अन्य क्षेत्रमा पनि यसलाई कसरी निरन्तरता दिने भन्नेबारे छलफल सुरु भएको छ ।

458 Shares

लेखकको बारेमा

हेर्दाहेर्दै डेस्क

हेर्दाहेर्दै डेस्क

सम्बन्धित खबरहरु

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट