संघीय सरकारको निर्णयलाई चुनौती दिँदै तामाकोशीमा वैशाख ७ देखि नै भर्ना अभियान, १४ गतेदेखि पढाइ सुरु हुने
इन्धन बचत र शैक्षिक क्षति न्यूनीकरणका लागि स्थानीय सरकारको आफ्नै कार्यतालिका
366
SharesNews Summary
- तामाकोशी गाउँपालिकाले संघीय सरकारको तालिकाभन्दा अगाडि नै वैशाख ७ बाट विद्यालय भर्ना र १४ बाट नियमित पठनपाठन सुरु गर्ने निर्णय गरेको छ।
- लामो बिदाले विद्यार्थीको शैक्षिक स्तर खस्कन नदिन र कुलतबाट जोगाउन, संविधानले दिएको स्थानीय तहको शिक्षा व्यवस्थापन गर्ने अधिकार प्रयोग गरी यो कदम चालिएको हो।
- यो निर्णयले स्थानीय सरकारहरूले आफ्नो क्षेत्रको आवश्यकता अनुसार स्वायत्त रूपमा निर्णय लिन सक्छन् भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।
दोलखा । तामाकोशी गाउँपालिकाले संघीय सरकार र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्णयभन्दा अगाडि नै विद्यालयको शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै वैशाख ७ गतेदेखि भर्ना अभियान र वैशाख १४ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने जनाएको हो।
संघीय सरकारको पत्रअनुसार आगामी शैक्षिक सत्रको भर्ना अभियान वैशाख १५ र पठनपाठन वैशाख २१ गतेबाट सुरु गर्ने निर्णय भएको थियो। तर, तामाकोशी गाउँपालिकाले लामो समय विद्यालय बिदा दिँदा विद्यार्थीको शैक्षिक स्तरमा ह्रास आउने, उनीहरू कुलतमा लाग्न सक्ने र दुर्घटनाको जोखिम बढ्ने भन्दै समयमै विद्यालय खोल्ने निर्णय गरेको छ।
नेपालको संविधान र प्रचलित कानुनले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई दिएको छ। सोही अधिकारको प्रयोग गर्दै गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई वैशाख ७ बाटै भर्ना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको छ।
नेपाल सरकारले तत्कालका लागि इन्धनको खपत घटाउन आइतबार पनि बिदा दिने विषयमा छलफल चलाइरहेको सन्दर्भमा गाउँपालिकाले आफ्नो धारणा स्पष्ट पारेको छ। गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप के.सी. द्वारा हस्ताक्षरित सूचनामा भनिएको छ, "हाम्रो गाउँपालिकामा समयमै विद्यालय खोल्दा इन्धनमा शून्य चाप पर्ने र विद्यार्थीको हित हुने देखिन्छ।"
आइतबार बिदा दिने वा नदिने भन्ने सन्दर्भमा थप छलफल गर्न गाउँपालिकाले वैशाख ९ गते बिहान १० बजे सबै विद्यालयका प्रधानाध्यापक र शिक्षा समितिका पदाधिकारीहरूलाई बैठकमा बोलाएको छ।
तामाकोशी गाउँपालिकाको यो निर्णयले स्थानीय सरकारहरूले आफ्नो क्षेत्रको आवश्यकता अनुसार स्वायत्त रूपमा निर्णय लिन सक्छन् भन्ने कुरालाई पुनः पुष्टि गरेको छ।
366 Shares