खेलकुदसँगै पढाइमा पनि उत्कृष्टता हासिल गर्दै जिरीको सहिद स्मृति मावि
खेलकुद र शैक्षिक दुवै क्षेत्रमा निरन्तर उत्कृष्ट नतिजा, जिल्लामा सहिद स्मृति माविको दबदबा
746
SharesNews Summary
- दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले पढाइ र खेलकुद दुवैमा उत्कृष्ट प्रदर्शन गरी छुट्टै पहिचान बनाएको छ।
- विद्यालयले SEE, BLE, प्रदेशस्तरीय वक्तृत्वकला र विभिन्न खेलकुद प्रतियोगितामा जिल्ला तथा प्रदेशभर प्रथम स्थान हासिल गर्दै आएको छ।
दोलखा । दोलखाको जिरीस्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालयले खेलकुदसँगै पढाइमा पनि उत्कृष्टता हासिल गर्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ।
“खेलकुदमा मात्र होइन, पढाइमा पनि अग्रस्थान कायम गर्ने” लक्ष्यसहित अघि बढेको विद्यालयले पछिल्लो समय जिल्ला तथा प्रदेशस्तरका विभिन्न शैक्षिक र खेलकुद प्रतियोगितामा निरन्तर सफलता प्राप्त गर्दै आएको छ।
सहिद परिवार, गरिब, विपन्न तथा अभिभावकविहीन बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने उद्देश्यले स्थापना भएको यस विद्यालयले शैक्षिक क्षेत्रमा आफूलाई अब्बल सावित गरेको छ।
२०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा यो विद्यालय दोलखा जिल्लाभरकै उत्कृष्ट (प्रथम) हुन सफल भयो। कक्षा ११ र १२ को पढाइ सुरु गरेको पहिलो वर्षमै विज्ञान संकायकी एक छात्राले समेत जिल्लाभरमै उत्कृष्ट अङ्क ल्याएर जिल्ला प्रथम स्थान हासिल गरिन्।
यसैगरी, २०८२ सालको कक्षा ८ (BLE) नगरस्तरीय परीक्षामा छात्र र छात्रा दुवैले प्रथम स्थान हासिल गरेका छन्। बागमती प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा पनि विद्यालयले प्रथम स्थान प्राप्त गरेको छ।
खेलकुदतर्फ पनि विद्यालय जिल्लाकै अग्रणी बनेको छ। जिरी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगातार ६ वर्ष जितेको विद्यालयले जिल्ला स्तरीय शिल्ड पनि लगातार तीन पटक जित्न सफल भएको छ।
फुटबल, भलिबल र क्रिकेट जस्ता खेलमा विद्यालयले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न प्रतियोगितामा स्वर्ण पदक जित्दै आएको छ।
विद्यालयले अध्ययनसँगै खेलकुदलाई समान रूपमा अगाडि बढाउँदा विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुगेको स्थानीयहरूको भनाइ छ। यसले दुर्गम क्षेत्रका बालबालिकाको भविष्य उज्ज्वल बनाउन सहयोग पुर्याएको छ।
746 Shares
