२०७४ यता कृषि अनुदानको दुरुपयोगबारे छानबिन गर्ने कालिन्चोकगाउँपालिकाको निर्णय
कालिञ्चोकले गठन गर्यो ५ सदस्यीय छानबिन समिति
522
SharesNews Summary
- दोलखाको कालिञ्चोक गाउँपालिकाले कृषि अनुदानको दुरुपयोग भएको विषयमा छानबिन गर्ने निर्णय गरेको छ।
- कृषि अनुदान लिएर उद्देश्यअनुसार काम नगरेको वा दुरुपयोग गरेको पाइएमा कारबाही प्रक्रिया अघि बढ्ने ।
- गाउँपालिकाले पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ।
दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिकाले आर्थिक वर्ष २०७४ सालदेखि हालसम्म वितरण गरिएको कृषि अनुदानको दुरुपयोग भएको विषयमा छानबिन गर्ने निर्णय गरेको छ।
आइतबार सम्पन्न गाउँसभाले कृषि अनुदानको सदुपयोग भए - नभएको अध्ययन गरी आवश्यक सिफारिस गर्न पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।
समितिको संयोजकमा कार्यपालिका सदस्य भवानी थामी रहेकी छन्। सदस्यमा रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी छन्। गाउँपालिकाका पशु सेवा (भेटेरिनरी) शाखा प्रमुख र कृषि शाखा प्रमुख पदेन सदस्य रहनेछन्।
गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले कृषि अनुदान लिएर उद्देश्यअनुसार काम नगरेको वा अनुदानको दुरुपयोग गरेको पाइएमा सम्बन्धित व्यक्ति तथा संस्थामाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने बताए।
गाउँसभाको निर्णयसँगै विगतमा वितरण भएका कृषि अनुदान कार्यक्रमको प्रभावकारिता र अनुदानको सदुपयोगबारे पनि छानबिन गरिने गाउँपालिकाले जनाएको छ।
522 Shares