अब हरेक दिन एक जना लखपति, सरकारले ल्यायो नयाँ उपहार योजना
613
SharesNews Summary
- सरकारले करदातालाई प्रोत्साहन दिन 'लखपति' बनाउने योजना ल्याउने भएको छ。
- १०० रुपैयाँभन्दा बढीको कारोबार गर्दा अनलाइन वा नगद माध्यमबाट भुक्तानी गरी सक्कली बिल लिने नागरिक योजनामा सहभागी हुन सक्नेछन्。
काठमाडौँ । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्न अब नियमित रूपमा ‘लखपति’ बनाउने योजना कार्यान्वयनमा ल्याउने भएको छ। ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत यस्तो व्यवस्था अघि बढाइएको हो।
यसका लागि सरकारले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३’ तयार गरिसकेको छ। कार्यविधिअनुसार मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान)मा आबद्ध भई १०० रुपैयाँभन्दा बढीको कारोबार गर्दा अनलाइन वा नगद माध्यमबाट भुक्तानी गरी सक्कली बिल लिने नागरिक उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन्।
योजनामा सहभागी हुन उपभोक्ताले १०० रुपैयाँभन्दा बढी मूल्यका वस्तु खरिद गर्दा वा होटल तथा रेस्टुरेन्टमा भुक्तानी गर्दा अनिवार्य रूपमा सक्कली बिल लिनुपर्ने व्यवस्था गरिएको छ। सोही बिलमा उल्लेख भएको नम्बरका आधारमा विजेता छनोट गरी उपहार प्रदान गरिने कार्यविधिमा उल्लेख छ।
कार्यविधिअनुसार हालका लागि प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन, अर्थात् पाक्षिक रूपमा, लखपति योजनाका विजेताको घोषणा गरिनेछ।
सरकारले यो कार्यक्रम चालु आर्थिक वर्षको बजेटमार्फत घोषणा गरेको थियो।






