चरिकोटमा पहिलोपटक विद्यालयमै ‘पोटरी सेसन’, माटोसँग खेल्दै सिके विद्यार्थी
किताबी ज्ञानसँगै माटोसँग खेल्दै सिक्दै विद्यार्थी, सिर्जनशीलता र आत्मविश्वास बढाउने प्रयास
473
SharesNews Summary
चरिकोटमा एपेक्स स्कुलले पहिलोपटक ‘पोटरी सेसन’ आयोजना गरेको छ।
विद्यार्थीले माटो मुछ्ने, पोटरी ह्विल चलाउने र विभिन्न सामग्री बनाउन सिकेका छन्।
पोटरीमार्फत विद्यार्थीको सिर्जनशीलता र आत्मविश्वास बढाउने प्रयास गरिएको छ।
कक्षामा पढेको ‘माटो र माटोबाट बन्ने सामग्री’ विषयलाई व्यावहारिक सिकाइसँग जोडिएको छ।
दोलखा । चरिकोटस्थित एपेक्स स्कुलका विद्यार्थीले विद्यालयमै माटोबाट विभिन्न सामग्री बनाउने अभ्यास गरेका छन्। विद्यार्थीलाई किताबमा पढेको विषय व्यवहारमै सिकाउने उद्देश्यले विद्यालयले ‘पोटरी सेसन’ आयोजना गरेको हो।
विद्यालयका अनुसार चरिकोट र दोलखा जिल्लाकै विद्यालयस्तरमा यस किसिमको माटो कला कार्यक्रम पहिलोपटक आयोजना गरिएको हो।
‘गरेर सिक्ने’ अर्थात् ‘लर्निङ बाई डुइङ’ पद्धतिअन्तर्गत आयोजना गरिएको सेसनमा विद्यार्थीले माटो मुछ्ने, पोटरी ह्विल घुमाउने र माटोबाट विभिन्न आकारका भाँडा तथा सामग्री बनाउने अभ्यास गरेका थिए।
सामाजिक शिक्षा विषयमा पढ्दै आएको ‘माटो र माटोबाट बन्ने सामग्री’ सम्बन्धी पाठलाई समेत पोटरी सेसनसँग जोडिएको थियो। कक्षामा पढेको विषयलाई आफ्नै हातले काम गरेर सिक्दा विद्यार्थीका लागि सिकाइ थप सहज र प्रभावकारी बनेको विद्यालयको भनाइ छ।
आफ्नै हातले बनाउँदा बढ्यो आत्मविश्वास
पोटरी सेसन केवल माटोबाट सामग्री बनाउने अभ्यासमा सीमित नभई विद्यार्थीको आत्मविश्वास र सिर्जनशीलता विकासमा समेत केन्द्रित थियो।
विशेषगरी पढाइमा कम रुचि भएका वा आफूले केही गर्न सक्छु भन्ने आत्मविश्वास कम भएका विद्यार्थीले आफ्नै हातले माटोलाई विभिन्न आकार दिँदा ‘मैले पनि केही गर्न र बनाउन सक्छु’ भन्ने भावना विकास हुने विद्यालयको विश्वास छ।
माटोबाट सामग्री बनाउँदा सबै कुरा पहिलो प्रयासमै सफल हुँदैन। कतिपय सामग्री बिग्रिएपछि विद्यार्थीले फेरि माटो मुछेर नयाँ आकार दिएका थिए। यस क्रममा उनीहरूले धैर्य गर्न र असफल भएपछि पनि प्रयास जारी राख्न सिके।
माटोबाट जीवन बुझ्ने अभ्यास
विद्यालयले बालबालिकाको विकासलाई माटोसँग जोडेर हेर्ने प्रयास पनि गरेको छ। काँचो माटोलाई सही आकार दिन सकेजस्तै बालबालिकाको व्यक्तित्व विकासका लागि पनि सही वातावरण, अभ्यास र मार्गदर्शन आवश्यक हुने विद्यालयको बुझाइ छ।
पोटरी सेसनमा विद्यार्थीले तयार सामग्री हेरेर मात्र सिकेनन्। उनीहरूले आफैँ सोचेर र आफ्नै हातले सामग्री बनाउने अवसर पाए। यसले उनीहरूको सिर्जनशीलता र आत्मविश्वास बढाउन सहयोग गरेको विद्यालयले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरू माटोसँग खेल्दै
विभिन्न सामग्री बनाउन उत्साहित देखिन्थे। माटो मुछ्ने, ह्विल घुमाउनेदेखि आफूले बनाएको सामग्री फेरि सुधार्ने काममा उनीहरू व्यस्त थिए।
विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक र सिर्जनात्मक सिकाइमा जोड दिँदै आएको जनाएको छ। विद्यार्थीको व्यावहारिक ज्ञान, सिर्जनशीलता र आत्मविश्वास विकासका लागि आगामी दिनमा पनि यस्ता गतिविधिलाई निरन्तरता दिने विद्यालयको योजना छ।
473 Shares