दोलखामा स्वास्थ्यकर्मीलाई क्षयरोग सम्बन्धी पुनर्ताजगी तालिम
चैत ६ र ७ गते सञ्चालन गरिएको तालिममा ९ स्थानीय तहका २० स्वास्थ्यकर्मी सहभागी
551
SharesNews Summary
- दोलखामा जिल्लाभरका स्वास्थ्यकर्मीहरूका लागि क्षयरोग (टिबी) सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
- तालिमको मुख्य उद्देश्य क्षयरोगको अद्यावधिक ज्ञान, समयमै पहिचान, प्रभावकारी उपचार र सेवा प्रवाहको गुणस्तर सुधार्दै सन् २०३५ सम्म रोग उन्मूलन गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउनु थियो।
चरिकोट, दोलखा । दोलखामा स्वास्थ्यकर्मीहरूका लागि क्षयरोग (टिबी) सम्बन्धी दुई दिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ।
जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा चैत ६ र ७ गते सञ्चालन गरिएको उक्त तालिममा जिल्लाभरका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगरले गरेका थिए।
तालिममा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका क्षयरोग तथा कुष्ठरोग अधिकृत जितेन्द्र कर्ण र यूएनडीपीअन्तर्गत प्रदेश संयोजक (टिबी/एचआईभी एड्स/मलेरिया) राजेश शाहले प्राविधिक सहजीकरण गरेका थिए। कार्यक्रममा जिल्लाका नौ वटै स्थानीय तहबाट २० जना स्वास्थ्यकर्मी सहभागी थिए।
तालिमको मुख्य उद्देश्य क्षयरोग सम्बन्धी अद्यावधिक ज्ञान अभिवृद्धि गर्नुका साथै रोगको समयमै पहिचान, प्रभावकारी उपचार र नियमित अनुगमन सम्बन्धी सीप सुदृढ बनाउनु रहेको आयोजकले जनाएको छ। साथै, अभिलेखीकरण तथा प्रतिवेदन प्रणालीलाई व्यवस्थित बनाउने र स्थानीय तहमा सेवा प्रवाहको गुणस्तर सुधार गर्ने विषयमा समेत जोड दिइएको थियो।
यसका साथै क्षयरोग नियन्त्रण तथा उन्मूलनका लागि अन्तरनिकाय समन्वय र सहकार्य सुदृढ बनाउने विषयमा पनि छलफल गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले नेपालले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म पूर्ण उन्मूलन गर्ने लक्ष्य लिएको जानकारी दिए। उनले यी लक्ष्य हासिल गर्न समयमै रोग पहिचान, पूर्ण उपचार सुनिश्चितता र समुदायस्तरमा प्रभावकारी सेवा प्रवाहमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए।
कार्यक्रमको समापनमा सहभागीहरूले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्दै समुदायस्तरमा क्षयरोग नियन्त्रणमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
551 Shares