दोलखामा स्वास्थ्य तथ्यांक सुदृढीकरणका लागि ‘FP DataPro’ कार्यक्रम सम्पन्न
तथ्याङ्क व्यवस्थापनलाई प्रभावकारी बनाउन जनस्वास्थ्य कार्यालयको सक्रियता
318
SharesNews Summary
- दोलखामा परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवाको तथ्याङ्क प्रणालीलाई व्यवस्थित बनाउन दुई दिने कार्यक्रम सम्पन्न भयो।
- कार्यक्रममा स्वास्थ्यकर्मीहरूलाई तथ्याङ्क सङ्कलन, विश्लेषण र डिजिटल व्यवस्थापनबारे व्यावहारिक प्रशिक्षण दिइयो।
- यसको उद्देश्य भरपर्दो तथ्याङ्कका आधारमा जिल्लाको स्वास्थ्य अवस्थाको वास्तविक चित्र प्रस्तुत गरी योजना निर्माणमा सहयोग पुर्याउनु हो।
१६ वैशाख, चरिकोट (दोलखा) । जिल्लाको स्वास्थ्य सूचना प्रणालीलाई थप व्यवस्थित बनाउने उद्देश्यका साथ दोलखामा दुई दिने ‘परिवार योजना तथा प्रजनन स्वास्थ्य सेवाको तथ्याङ्क सुदृढीकरण (FP DataPro)’ कार्यक्रम सम्पन्न भएको छ ।
जनस्वास्थ्य कार्यालय दोलखाको आयोजनामा वैशाख १४ र १५ गते सञ्चालन भएको उक्त कार्यक्रममा जिल्लाका स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।
कार्यक्रम जनस्वास्थ्य कार्यालयका प्रमुख डिलेन्द्र बुढा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पशुपति चौलागाईँ स्मृति अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अच्युत पौडेलले स्वास्थ्य क्षेत्रमा सही तथ्याङ्कको महत्त्वबारे प्रष्ट पार्नुभएको थियो ।
स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका विज्ञहरूले कार्यक्रमको सहजीकरण गरेका थिए । तथ्याङ्क अधिकृत कृष्णराज तिवारी र कम्प्युटर अधिकृत प्रवीन चौहानले सहभागीहरूलाई तथ्याङ्क सङ्कलन, यसको सही विश्लेषण र प्रतिवेदन प्रणालीलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा व्यावहारिक प्रशिक्षण दिनुभएको थियो ।
जनस्वास्थ्य कार्यालयका अनुसार, यो कार्यक्रमले परिवार योजना र प्रजनन स्वास्थ्यसँग सम्बन्धित तथ्याङ्कहरूलाई अझ भरपर्दो र विश्वसनीय बनाउन मद्दत पुग्नेछ । डिजिटल प्रणालीमार्फत तथ्याङ्क व्यवस्थापन गर्दा जिल्लाको स्वास्थ्य अवस्थाको वास्तविक चित्र आउने र योजना निर्माणमा सहज हुने अपेक्षा गरिएको छ ।
318 Shares