भीमेश्वरमा आयुर्वेद स्वास्थ्य शिविर : ९५ वर्षका वृद्धदेखि १०० जना ज्येष्ठ नागरिकसम्मले पाए सेवा
जेष्ठ नागरिकलाई घरदैलोमै आयुर्वेद सेवा: ९५ वर्षीय वृद्धसहित १०० जना लाभान्वित
482
SharesNews Summary
- दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ मा ज्येष्ठ नागरिकका लागि निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भयो।
- शिविरबाट १०० जना ज्येष्ठ नागरिकले जोर्नी दुख्ने, पेट, रक्तचाप लगायतका समस्याको उपचार तथा औषधि पाई खुसी व्यक्त गरे।
दोलखा । भीमेश्वर नगरपालिका वडा नं. ७ मा शनिबार ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, दोलखाको आयोजना र वडा कार्यालयको समन्वयमा भएको शिविरबाट १०० जना ज्येष्ठ नागरिक लाभान्वित भएका छन् ।
शिविरमा सेवा लिनेहरूमध्ये ६४ जना महिला र ३६ जना पुरुष रहेका छन् । विशेष गरी जोर्नी दुख्ने, पेट सम्बन्धी समस्या, हातगोडा झमझमाउने, खोकी, उच्च रक्तचाप र पिसाब सम्बन्धी समस्या भएका बुवाआमाहरूले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा ९५ वर्षका वृद्धले समेत उपस्थित भएर सेवा लिनुभएको आयोजकले जनाएको छ ।
कार्यक्रममा भीमेश्वर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विनोद तामाङ मोक्तानले व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए ।
आयुर्वेद चिकित्सालय सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य रघुनाथ कार्की प्रमुख अतिथि थिए । शिविरमा डा. रुपेश कुमार ठाकुर, डा. सुभाष भुजेल, सिर्जना आचार्य सहित मकैबारी स्वास्थ्य चौकीका प्रमुख गीत महत लगायतको स्वास्थ्य टोलीले बिरामीको जाँच र औषधि वितरण गरेको थियो ।
कार्यक्रममा समाजसेवी श्रीकृष्ण बस्नेत, समितिका सदस्य शिव बहादुर खत्री लगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । घरदैलोमै आयुर्वेद उपचार र औषधि पाएपछि स्थानीय ज्येष्ठ नागरिकहरूले खुसी व्यक्त गरेका छन् ।
482 Shares