Herda Herdai logo २७ साउन २०८३, बुधवार

भर्खरै

दोलखामा कम्युनिस्ट संगठन संकट

कमरेड, अब सच्चिने कि सक्किने?

निर्वाचनपछिको समीक्षा अभाव, निष्क्रिय संरचना र कमजोर नेतृत्वप्रति गम्भीर प्रश्न

हेर्दाहेर्दै डेस्क हेर्दाहेर्दै डेस्क १० चैत २०८२, मङ्गलवार
कमरेड, अब सच्चिने कि सक्किने?

Puskar Kumar Adhikari

News Summary


  • दोलखामा नेपाली कम्युनिष्ट पार्टी निर्वाचनपछि आत्मसमिक्षा, समन्वय र प्रभावकारी नेतृत्वको अभावले संगठनात्मक संकटमा परेको छ, जसले जनमतमा समेत गिरावट ल्याएको छ।
  • यो अवस्था सुधार्न पार्टीले तत्काल इमान्दार आत्मसमिक्षा, नेतृत्वको जवाफदेहिता, संरचनात्मक पुनर्गठन र जनतासँगको सम्बन्ध मजबुत बनाउनु अनिवार्य छ।

Puskar Kumar Adhikari 

दोलखा । दोलखा जिल्लाको वर्तमान राजनीतिक अवस्थालाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्ने हो भने अब ढिलाइ नगरी नेपाली कम्युनिस्ट पार्टी दोलखाले आत्मसमिक्षा गर्नु अपरिहार्य देखिन्छ। निर्वाचन सम्पन्न भएको १५ दिनभन्दा बढी समय बितिसक्दा पनि जिल्ला पार्टीको आधिकारिक समीक्षा बैठक बस्न नसक्नु आफैंमा गम्भीर कमजोरी हो।

निर्वाचनलाई मतदानसम्म मात्र सीमित प्रक्रिया मान्नु ठूलो भूल हो। यसको वास्तविक महत्त्व त निर्वाचनपछिको समीक्षा, कमजोरी पहिचान र आगामी रणनीति निर्माणमा निहित हुन्छ। तर दुर्भाग्यवश, यही महत्वपूर्ण पक्षमा पार्टीको ध्यान पुग्न सकेको देखिँदैन।

निर्वाचनका बेला गठन गरिएको परिचालन समिति व्यवहारमा प्रभावकारी बन्न सकेन। नियमित बैठक, समन्वय, योजनाबद्ध परिचालन र जिम्मेवारीको स्पष्ट कार्यान्वयन अभावले गर्दा उक्त संरचना कर्मकाण्डमा सीमित भयो। नाम मात्रको संरचनाले अपेक्षित परिणाम दिन सक्दैन भन्ने यथार्थ पुनः पुष्टि भएको छ।

हाल जिल्लामा पार्टीको समग्र अवस्था अन्योलग्रस्त र निष्क्रियजस्तो देखिन्छ। जिल्ला कमिटीको भूमिका अस्पष्ट छ, पालिका कमिटीहरू प्रभावकारी रूपमा सञ्चालन हुन सकेका छैनन्, र नेतृत्वको उपस्थितिसमेत कमजोर देखिन्छ। कार्यदलहरू पनि सक्रिय देखिँदैनन्। यस्तो अवस्थामा ‘पार्टीको जिम्मेवार को?’ भन्ने आधारभूत प्रश्नको स्पष्ट उत्तर नपाइने अवस्था सिर्जना हुनु संगठनात्मक संकटको संकेत हो।

यति धेरै केन्द्रीय तथा प्रदेश सदस्यहरूको उपस्थिति हुँदाहुँदै पनि जिल्लामा समन्वय, नेतृत्व र कार्यान्वयन कमजोर हुनु चिन्ताजनक विषय हो। निर्वाचनअघि र निर्वाचनपछि एकपटक पनि सार्थक छलफल हुन नसक्नु, प्रदेश संरचनाको निष्क्रियता—यी सबैले संगठनभित्र गहिरो समस्या रहेको संकेत गर्छ।

यद्यपि, यी कमजोरीका बाबजुद पनि हालै सम्पन्न निर्वाचनमा पार्टीले प्राप्त गरेको सम्मानजनक मत परिणाम कार्यकर्ता र आम मतदाताको पार्टीप्रतिको विश्वासको प्रतिफल हो। तर यसलाई उपलब्धि भनेर आत्मसन्तुष्ट हुने होइन, चेतावनीका रूपमा ग्रहण गर्नु आवश्यक छ। समयमै सुधार नगरे यस्तो परिणाम दोहोर्याउन कठिन हुने निश्चित छ।

झनै गम्भीर पक्ष के छ भने, पार्टीकै नेताहरूले नेतृत्व गरेका पालिका र वडाहरूमा समेत अपेक्षाकृत कम मत आएको छ। जहाँ संगठन बलियो मानिन्थ्यो, त्यहीँ जनमत कमजोर हुनु साधारण घटना होइन। यसले संगठनभित्रको कमजोरी, जनतासँग बढ्दो दूरी र नेतृत्वको कार्यशैलीमै प्रश्न उठाएको छ।

अब केही प्रश्नहरूको इमान्दार जवाफ खोजिनुपर्छ—

के संगठन प्रभावकारी रूपमा परिचालित भयो?

के जनताको अपेक्षा र असन्तुष्टि समयमै बुझ्न सकियो?

वा नेतृत्वले आफ्नो जिम्मेवारीअनुसार भूमिका निर्वाह गर्न सकेन?

यी प्रश्नहरूको निष्पक्ष र गहिरो समीक्षा पार्टीभित्र अपरिहार्य भइसकेको छ।

यस अवस्थालाई हल्काफुल्का रूपमा लिनु गम्भीर भूल हुनेछ। आफ्नै आधार क्षेत्रमा आएको गिरावटलाई समयमै सच्याउन नसके भविष्यमा अझ ठूलो क्षति बेहोर्नुपर्ने निश्चित छ। त्यसैले पालिका र वडास्तरमै विशेष समीक्षा गर्दै, कमजोरीहरूको स्पष्ट पहिचान र सुधारका ठोस योजना अघि सार्नुपर्छ।

अब केवल समीक्षा गरेर मात्र पुग्दैन—सुधारको कार्यान्वयन अनिवार्य छ।

पार्टीका हरेक कमिटी नामका होइन, कामका हुनुपर्छ। सानो तर सक्षम संरचना, स्पष्ट जिम्मेवारी बाँडफाँड, नियमित बैठक र मूल्याङ्कन प्रणाली आवश्यक छन्। चाकडी र चाप्लुसीका आधारमा संगठन सञ्चालन सम्भव हुँदैन।

नेतृत्वले आफ्ना कमजोरीहरू स्वीकार्ने साहस देखाउनुपर्छ। आत्मसमिक्षा बिना सुधार सम्भव हुँदैन। गुटबन्दी, अहंकार, अवसरवाद र जनतासँगको दूरीलाई ढाकछोप गरेर होइन, खुला रूपमा स्वीकार्दै सुधारतर्फ अघि बढ्नुपर्छ। साथै, नयाँ पुस्तालाई स्थान दिनु, निर्णय प्रक्रियामा पारदर्शिता र सहभागिता बढाउनु पनि उत्तिकै आवश्यक छ।

युवाको भूमिका अब सहायक मात्र होइन, नेतृत्वदायी हुनुपर्छ। संगठन विस्तार, डिजिटल माध्यमबाट प्रभावकारी प्रचारप्रसार, जनताको मुद्दा पहिचान र अभियान सञ्चालनमा युवालाई अग्रपंक्तिमा ल्याउनुपर्छ। बेतिथि र विसंगतिविरुद्ध सशक्त आवाज उठाउन जरुरी छ।

सहिद, बेपत्ता र घाइते परिवारप्रति पार्टीको दायित्व औपचारिकतामा सीमित हुनुहुँदैन। उनीहरूको सम्मान, सुरक्षा र जीवनस्तर सुधारका लागि व्यवहारिक कार्यक्रम आवश्यक छन्। यही नै पार्टीको नैतिक आधार हो।

जनताको पार्टी बन्न, जनतासँग निरन्तर सम्बन्ध कायम गर्नुपर्छ। चुनावको समयमा मात्र होइन, दैनिक जीवनका समस्या र आवश्यकतामा साथ दिने संस्कार विकास गर्नुपर्छ। सुनुवाइ, समाधान र विश्वास निर्माणबाट मात्र पार्टी बलियो बन्छ।

अब स्थानीय तहका वास्तविक मुद्दा—कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार—लाई तथ्य र अध्ययनका आधारमा उठाउँदै, पालिका र वडास्तरमै दबाब सिर्जना गर्नुपर्छ। जनताको आवाजलाई नीतिगत तहसम्म पुर्‍याउने स्पष्ट रणनीति आवश्यक छ।

दोलखामा पार्टी सुदृढीकरणका लागि टोल–टोलसम्म पुनर्गठन, निष्क्रिय संरचना हटाउने, सक्रिय कार्यकर्तालाई प्रोत्साहन गर्ने, नियमित प्रशिक्षण र राजनीतिक शिक्षामा जोड दिनुपर्छ। संगठनलाई निर्वाचन केन्द्रित मात्र होइन, स्थायी र जनआधारित बनाउनु आवश्यक छ।

अन्ततः, अहिलेको अवस्था संकट पनि हो र अवसर पनि।

यदि समयमै आत्मसमिक्षा, सुधार र पुनर्निर्माणको बाटो रोजियो भने पार्टी अझ सशक्त बन्न सक्छ।

नत्र आजको कमजोरी भोलिको पराजयमा परिणत हुन समय लाग्दैन।

अब ढिलाइ गर्ने ठाउँ छैन—

समीक्षा, सुधार र पुनर्गठन नै आजको अनिवार्य कार्यदिशा हो।

1106 Shares

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट