जनताको प्रश्न : हिजो फुटाउने, आज जोड्ने किन ?
आत्मसमीक्षा कि अवसरवाद ?
1153
SharesNews Summary
- नेपालको कम्युनिस्ट आन्दोलनले राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गरे पनि हाल विभाजन, व्यक्तिवाद र सत्ता-केन्द्रित संघर्षले कमजोर बनेको छ।
- पछिल्लो चुनावी परिणामपछि उठेको एकताको बहसलाई जनताले अविश्वासका साथ हेरेका छन्; साँचो एकताका लागि विगतको आत्मालोचना, वैचारिक स्पष्टता र जनहितमा आधारित जिम्मेवार पुनर्निर्माण आवश्यक छ।
पुष्कर अधिकारी
नेपालको कम्युनिस्ट आन्दोलन गौरवपूर्ण इतिहास, बलिदान, जनयुद्ध, जनआन्दोलन र परिवर्तनको लामो यात्राबाट निर्माण भएको आन्दोलन हो। यही आन्दोलनले राजतन्त्रको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म महत्वपूर्ण भूमिका खेलेको छ। तर पछिल्ला वर्षहरूमा यही आन्दोलन विभाजन, अविश्वास, व्यक्तिवाद र सत्ता-केन्द्रित संघर्षको शिकार बन्दै गएको देखिन्छ।
आज फेरि कम्युनिस्ट एकताको बहस चर्किएको छ। विशेष गरी पछिल्ला चुनावी परिणामपछि विभिन्न वाम शक्तिबीच एकताको चर्चा बाक्लिएको छ। तर मुख्य प्रश्न के हो भने-यो एकता साँच्चै विचार, आन्दोलन र जनताको हितका लागि हो, कि चुनावी धक्का र राजनीतिक असुरक्षाले जन्माएको बाध्यता मात्रै हो?
कम्युनिस्ट आन्दोलनमा एउटा पुरानो प्रवृत्ति देखिँदै आएको छ। आफू कमजोर हुँदा एकताको कुरा गर्ने, तर शक्ति हात परेपछि त्यही एकतालाई टिकाउन नसक्ने। व्यक्तिगत अहंकार, गुटीय स्वार्थ र नेतृत्व मोहका कारण पटक-पटक आन्दोलन विभाजित भएको इतिहास हाम्रो सामु छ।
त्यसैले आज उठाइएको एकताको नारालाई जनताले सहज रूपमा विश्वास गर्न सक्ने अवस्था छैन। जनताका स्वाभाविक प्रश्न छन्-
यदि एकता यति आवश्यक थियो भने हिजो किन फुटाइयो?
यदि विचार मिल्थ्यो भने विभाजन किन गरियो?
यदि जनताको हित नै केन्द्रमा थियो भने व्यक्तिगत शक्ति संघर्ष किन प्राथमिकता बन्यो?
यी प्रश्नहरूको स्पष्ट उत्तर नदिई गरिने कुनै पनि एकता अस्थायी राजनीतिक सम्झौताभन्दा माथि उठ्न सक्दैन।
एकता गर्ने हो भने सबैभन्दा पहिले नेतृत्वले विगतको समीक्षा र आत्मालोचना गर्नुपर्छ। आन्दोलनलाई कमजोर बनाउने निर्णय किन गरियो, त्यसले जनतामा र कार्यकर्तामा कस्तो निराशा पैदा गर्यो भन्ने विषयमा खुला रूपमा छलफल हुनुपर्छ। आत्मालोचना नगरी गरिने एकताले फेरि उही गल्ती दोहोरिने सम्भावना रहन्छ।
आज कम्युनिस्ट आन्दोलनलाई संगठनात्मक एकतासँगै वैचारिक स्पष्टता पनि आवश्यक छ। साझा राजनीतिक दृष्टिकोण, लोकतान्त्रिक अभ्यास, आन्तरिक अनुशासन, नेतृत्व हस्तान्तरणको संस्कार र जनताप्रतिको उत्तरदायित्वबारे स्पष्ट योजना हुनुपर्छ। अन्यथा एकता केवल चुनावी अंकगणितमा सीमित हुनेछ।
पछिल्ला चुनावी परिणामले जनतामा वैकल्पिक शक्तिप्रतिको आकर्षण बढिरहेको सन्देश दिएको छ। अब जनताले इतिहास र पुराना नाराका आधारमा मात्र मत दिँदैनन्। उनीहरू व्यवहार, परिणाम र राजनीतिक संस्कार खोजिरहेका छन्।
सायद यही सन्देशले नेताहरूलाई एकताको आवश्यकताबारे सोच्न बाध्य बनाएको हुन सक्छ। तर त्यो परिवर्तन साँचो आत्मबोध हो कि अस्थायी राजनीतिक आवश्यकता मात्रै हो भन्ने कुरा व्यवहारले नै पुष्टि गर्नेछ।
कम्युनिस्ट आन्दोलन अझै पनि नेपालमा ठूलो सम्भावना बोकेको शक्ति हो। तर त्यसलाई जोगाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामूहिक जिम्मेवारी बहन गर्नुपर्छ। आन्दोलनलाई फेरि प्रयोगशाला बनाउने गल्ती दोहोरिनु हुँदैन।
आजको आवश्यकता अन्ध एकता होइन, जिम्मेवार पुनर्निर्माण हो। नयाँ पुस्तालाई अवसर दिने, नेतृत्व हस्तान्तरणको संस्कार विकास गर्ने, जनतासँग विश्वासको सम्बन्ध पुनः स्थापित गर्ने र विगतका कमजोरी सच्याउने दिशामा सबैले इमानदारीपूर्वक काम गर्नुपर्छ।
अन्यथा चुनावी धक्कापछि उठ्ने एकताको नारा केही समयका लागि चर्चाको विषय त बन्न सक्छ, तर त्यसले आन्दोलनलाई दीर्घकालीन रूपमा बलियो बनाउन सक्दैन।
लाखौँ जनता, नेता–कार्यकर्ता र शहीदहरूको रगत, पसिना र बलिदानले बनेको यो आन्दोलनलाई सुदृढ बनाउँदै समुन्नत राष्ट्र निर्माण र समाजवादतर्फ अघि बढ्ने साहस नेतृत्वले देखाउनै पर्छ। कार्यकर्ताको त्याग, संघर्ष र भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई पनि छैन।
1153 Shares
